काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामाजिक न्याय र समृद्धिको पक्षमा एकतावद्ध हुन गैरआवासीय नेपालीलाई आग्रह गरेका छन् ।
आइतबार काठमाडौंमा गैरआवासीय नेपाली संघको एकताको महाधिवेशन समापन समारोहमा बोल्दै प्रचण्डले अहिले आफुहरु सामाजिक न्याय र समृद्धिका लागि प्रयासरत रहेको भन्दै यसमा एकतावद्ध हुन गैरआवासीय नेपालीलाई आग्रह गरेका हुन् ।
गैरआवासीय नेपालीसंग रहेका अनुभव, स्रोत लगायतले नेपालको अहिलेको आर्थिक विकासको निम्ति ठूलो सहयोग पुग्न सक्ने उनले बताए । त्यस्तै प्रचण्डले गैरआवासीय नेपालीलाई सहज रुपमा नेपाल लगानी गर्ने वातावरण बनाउन आफूहरुले पहल गर्ने धारणा राखे ।
उनले संविधान निर्माण गर्दादेखि नै गैरआवासीय नेपालीको पक्षमा बहस गर्ने गरेको र सम्भव भएसम्म गैरआवासीय नेपालीको माग सम्बोधन गर्ने प्रयास गरेको जिकिर गरे ।
उनले संस्थालाई एकतावद्ध भएर अघि बढाउन सुझाव दिए । गैरआवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशनले महेशकुमार श्रेष्ठको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको छ ।