काठमाडौँ– सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको नीति तथा कार्यक्रममा स्नातक तहमाथिका विद्यार्थीहरूलाई लक्षित गरी ‘कमाउँदै–पढ्दै’ नीति लागू गर्ने घोषणा गरेको छ।
उक्त योजनाअन्तर्गत विद्यार्थीहरूलाई हप्तामा बढीमा २० घण्टा काम गर्ने व्यवस्था गरिनेछ । त्समा न्यूनतम ज्यालाको सुनिश्चितता पनि गरिने बताइएको छ।
शुक्रबार संसदमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा बढीमा हप्तामा २० घण्टा कामको न्यूनतम ज्याला निश्चित गरी ‘कमाउँदै–पढ्दैँ को नीति लागू गरिने उल्लेख गरिएको छ।
यससँगै विद्यार्थीहरूलाई सरकारी सेवामा इन्टर्नको रूपमा प्रयोग गर्ने व्यवस्था पनि गरिने भएको छ। नीति तथा कार्यक्रममा स्पष्ट रूपमा भनिएको छ, “स्थानीय तहदेखि केन्द्रसम्म सरकारी सेवामा इन्टर्नलाई प्रयोग गरिनेछ।”
यसअघि पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले इन्टर्न कार्यविधि तयार पार्दै मन्त्रालयस्तरीय इन्टर्नको अभ्यास सुरू गरेकी थिइन्, जसको आधारमा अब यो नीति राष्ट्रिय रूपमै विस्तार गरिने देखिएको छ।
सरकारले स्नातकपछिका विद्यार्थीहरूलाई विभिन्न अनुसन्धान संस्था तथा परियोजनामा आबद्ध गर्ने योजना पनि अघि सारेको छ। यसबाट युवा वर्गको शैक्षिक ज्ञानको व्यवहारिक प्रयोग, आर्थिक आत्मनिर्भरता, र सरकारी कामकाजप्रति समझदारी बढाउने विश्वास लिइएको छ।