काठमाडौं, चैत १० – नेपाल टेलिभिजनका वरिष्ठ समाचार सम्पादक शालिक सुवेदीलाई यस वर्षको नेशनल हेल्थ अवार्ड २०८१ बाट सम्मानित गरिएको छ।
स्वास्थ्य सेवाको पहुँच विस्तारमा पत्रकारिताको महत्त्वपूर्ण योगदान पुर्याउँदै समाजमा सकारात्मक सुधार ल्याएको कदर गर्दै उनलाई यो प्रतिष्ठित पुरस्कार प्रदान गरिएको हो।
काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित स्वास्थ्य दर्पण मिडिया नेटवर्कको नवौं वार्षिकोत्सव कार्यक्रममा पूर्व राष्ट्रपति डा= रामवरण यादवले शालिक सुवेदीलाई अवार्ड हस्तान्तरण गरे।
यस अवसरमा, स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने नेपालका ७ प्रदेशका चिकित्सक, स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थाहरू, र पत्रकारहरूको समेत सम्मान गरिएको थियो। कार्यक्रममा अमेरिका र युरोपमा कार्यरत चिकित्सकहरूलाई पनि सम्मानित गरियो। कुल २४ जनाले पुरस्कार प्राप्त गरे।
स्वास्थ्य दर्पण मिडियाले प्रत्येक वर्ष स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान दिने चिकित्सक, प्राध्यापक, स्वास्थ्यकर्मी, र पत्रकारलाई सम्मान गर्दै आएको छ, जसले स्वास्थ्य क्षेत्रमा समग्र सुधार र विकासको प्रेरणा पुर्याएको छ।