काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले अभिव्यक्ति स्वतन्त्रताको अधिकार मिच्ने कुनै पनि काम सरकारबाट नहुने स्पष्ट पारेका छन् ।
व्यावसायी तथा समाजसेवी राजेशकाजी श्रेष्ठको जीवनीमा आधारित ‘व्यक्तित्व योगदान’ पुस्तकको शुक्रबार काठमाडौंमा लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले आफूहरु बोल्न नपाउने अवस्थाविरुद्ध लडेर आएकाले अभिव्यक्ति स्वतन्त्रताको अधिकार मिच्ने कुनै काम सरकारबाट नहुने स्पष्ट पारेका छन् ।
प्रधानमन्त्री ओलीले हिजो सँगै रहेर मस्यौदा गरेका केही मान्छेहरुले अहिले अभिव्यक्ति स्वतन्त्रता हनन् हुन लाग्यो भनेर सामाजिक सञ्जाल विधेयकविरुद्ध चर्का कुरा गरेर हल्ला गरेको टिप्पणी गरे ।
टिकटकमा प्रतिबन्ध लगाउनेहरुले अहिले जे पनि बोल्न पाउनुपर्छ भनेर अभिव्यक्ति स्वतन्त्रताको हिमायती बनेको उनले बताए ।
प्रधानमन्त्री ओलीले स्वीट्जरल्याण्डको बैँकका आफूले पैसा राख्यो भन्ने जस्ता प्रश्न गरेर भ्रम फैलाइएको दोहोर्याए । उनले सुशासनबाट मात्रै समृद्धितिर देशलाई लान सकिने भएको र सुशासन एउटा गम्भीर चुनौतीका रुपमा रहेकाले छिटो छरितोरुपमा कानुन बनाउने र काम अगाडि बढाउने प्रक्रियामा सरकार रहेको स्पष्ट गरे ।
प्रधानमन्त्री ओलीले व्यावसायको क्षेत्रका साथै नेपाल चेम्बर अफ कमर्शको संस्थागत विकासमा योगदान दिएका व्यक्तित्व श्रेष्ठको व्यक्तित्व र कृतित्वले नयाँ पुस्ताका लागि प्रेरणदायी हुने बताए ।