काठमाडौँ – नेकपा एमालेका नेता महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रभु बैँकबीच साँठगाँठ भएको जिकिर गरेका छन् । सोमबार सामाजिक सञ्जालमा नेता बस्नेतले सहकारी ठगी प्रकरणमा धरौटीमा रिहा हुनका लागि रविको ग्यारेन्टी प्रभु बैँक बसिदिएको कुराले शंका उत्पन्न भएको बताएका हुन् ।
काठमाडौँ जिल्ला अदालतले रविलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उनको रिहाईका लागि धरौटीका लागि प्रभु बैँक ग्यारेन्टी बसिदिएको थियो ।
यस्तै रविविरुद्ध रुपन्देही जिल्ला अदालतले तोकेको पनि १ करौड रुपैयाँ धरौटीको ग्यारेन्टी प्रभु बैँकले नै गरेको थियो । यसबारे प्रश्न गर्दै नेता बस्नेतले गरिब युवाहरूले व्यवसाय गर्छु भन्दा ५ लाख नपत्याउने बैँकले रविका लागि मोटो रकम ग्यारेन्टी बस्नुको कारणबारे छानबिन हुनुपर्ने बताएका छन् ।
‘सरकारले सर्टिफिकेट र परियोजना धितो राखेर युवाहरूको रोजगारीको निमित्त ९ वटा सेक्टरमा १५ लाख देखि २ करोड ऋण प्रवाह गर भन्दा नटेर्ने वाणिज्य बैंकहरुले रातारात बिना धितो २ करोड २५ लाख किन उपलब्ध गराइरहेको छ ?’ उनले प्रश्न गरेका छन्, ‘प्रभु बैंक र रवि लामिछाने बीचको कनेक्सन के हो ? प्रभु बैंक र गोर्खा मिडिया सँगको कनेक्सन के हो ?’
उनले विभिन्न सहकारीबाट पैसा ठगेर ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्ने गोर्खा मिडिया जिबी राई र रवि लामिछानेलाई बैँकले संरक्षण गरेको भन्दै प्रश्न गरेका छन् । उनले भनेका छन्, ‘केही न केही गलत र अपराधिक कर्ममा यिनीहरूको साठगाठ हुनुपर्छ ।’