रुपन्देही– रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दा रुपेन्देहीस्थित दोस्रो दिनको थुनछेक बहस जारी छ । न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा उनको बहस चलिरहेको हो ।
बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको मुद्दामा बयानका लागि रवि बुधबारै अदालतमा हाजिर भएका हुन् । थुनछेक बहसको पहिलो दिन बिहिवार ८ जना सरकारी वकिलहरूले ४ घण्टा बहस गरेका थिए ।
आज जाहेरवालाको तर्फबाट बाँकी रहेका वकिलपछि रवितर्फका वकिलहरूले बहस गर्नेछन् । सहकारीपीडितको तर्फबाट आज दुई जना कानून व्यवसायीले बहस गर्नेछन् । रविको तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, सुशील पन्त, सुरेन्द्र थापा, पशुपति भण्डारी तथा अधिवक्ताहरू डा। नारायणदत्र कंडेल, सुरज बस्नेत, सुनिता रावल, राजेन्द्र सेढाईलगायतले बहस गर्ने तयारी छ ।
प्रतिवादीको तर्फबाट ८ जनाले बहस गर्ने नाम टिपाइएको र दुवैतर्फको बहस सकिएपछि जवाफी बहस हुने बताइएको छ । रविको तर्फबाट बहस गर्नेको सूची लामो भएकाले आजै आदेश आउन सक्ने सम्भावना कम छ । त्यही पनि बहस छोट्याउने तयारी छ । जवाफी बहसपछि मात्रै न्यायाधीशले रवि पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारिखमा छाड्नेमध्ये एक आदेश सुनाउने छन् ।