काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सरकार विस्तारका विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको भेटवार्तामा अध्यक्ष दाहालले पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नामसमेत प्रधानमन्त्रीलाई बुझाएका छन् ।


ADVERTISEMENT


अध्यक्ष दाहालका प्रमुख स्वकीय सचिव जोखबहादुर महराका अनुसार अपराह्न ४ बजे मन्त्रीको शपथ ग्रहण गराउने तयारी भएकाले पार्टीको तर्फबाट मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाइएको हो । माओवादी केन्द्रले नेता रामबहादुर थापाको नेतृत्वमा सरकारमा सहभागी हुने तयारी गरेको छ । माओवादी केन्द्रका अनुसार सबै प्रदेशको प्रतिनिधित्व र कार्यक्षमता प्रदर्शन गर्न सक्नेलाई मन्त्रिमण्डलमा पठाइएको छ ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्रीलाई पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम बुझाइएको भए पनि प्रमुख स्वकीय सचिव महराले भने नाम सार्वजनिक गर्न चाहेनन्। उनले भने, ‘सबै वर्ग, क्षेत्र तथा कार्यक्षमता हेरेर पार्टीले निर्णय गरेको छ। शपथ ग्रहण समारोहमा नै नाम सार्वजनिक भइहाल्छ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दोस्रोपटक मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन्। फागुन ३ गते ओली नेतृत्वमा वाम गठबन्धनको सरकार गठन भएको थियो । नेकपा एमाले र माओवादी केन्द्रमा मन्त्रीका आकांक्षी बढी भएपछि छलफलका लागि समय लागेका कारण मन्त्रिमण्डल विस्तारमा ढिलाइ हुँदै आएको थियो ।

राष्ट्रपति कार्यालयले आज अपराह्न ४ बजे शपथ ग्रहणको तयारी गरेको छ । प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ लिँदा मन्त्रिमण्डल तीन सदस्यीय बनाएका थिए ।