काठमाडौं–चिरप्रतिद्वन्द्वी चेल्सीलाई आफ्नो घरेलु मैदानमा पराजित गर्दै म्यान्चेस्टर युनाइटेड प्रिमियर लिगको दोस्रो स्थानमा उक्लेको छ । एक गोलले पछि परेको स्थिति उल्टाउँदै युनाइटेडले २–१ को जीत हासिल गरेको हो ।


ADVERTISEMENT


निकै प्रतिस्पर्धात्मक बनेको खेलमा विलियानले पाहुना टोलीलाई खेलको ३२ औँ मिनेटमा अग्रता दिलाएका थिए । तर, ७ मिनेटपछि नै रोमेलु लुकाकुले गोल गर्दै खेल बराबरी गरे ।


ADVERTISEMENT

# # #


खेल सकिन १५ मिनेट बाँकी छँदा लुकाकुको पासमा जेसे लिन्डगार्डले गोल गर्दै युनाइटेडलाई महत्वपूर्ण तीन अंक दिलाए । उता, चेल्सी भने अभागी ठहरियो । लिन्डगार्डको गोलपछि अल्भारो मोराटाले गोल गरे पनि त्यसलाई गलत निर्णयले अफसाइड करार गरियो ।

पराजयपछि चेल्सी लिगको पाँचौ स्थानमा खस्किएको छ । चेल्सीले घरेलु मैदानबाहिर लगातार दुई खेलमा पराजय बेहोरेको सन् २०१५ देखि यो पहिलो पटक हो ।

उता, ह्यारी केनको निर्णायक गोलको मद्दतले क्रिस्टल प्यालेसलाई पराजित गर्दै टोटनहम हटस्पर्स लिगको चौँथो स्थानमा उक्लेको छ ।

स्पर्सले खेलमा पूर्ण नियन्त्रण कायम राखे पनि प्यालेसले खेलको ८८ औँ मिनेटसम्म उसलाई रोक्न सफल भएको थियो । तर, खेलको ८८ औँ मिनेटमा क्रिस्टियन एरिक्सनको कर्नरमा गोल गर्दै केनले स्पर्सलाई जीत दिलाए ।

योसँगै केनले क्लबका लागि सबै प्रतियोगिताहरुमा १५० गोल पूरा गरेका छन् । स्पर्स सबै प्रतियोगितामा पछिल्ला १५ खेलमा अपराजित रहेको छ ।