काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले टेलिभिजन र रेडियोको सञ्चालन अनुमति तथा नियमन गर्नका लागि छुट्टै निकायको आवश्यकता भएको बताएका छन्।


ADVERTISEMENT


प्रविधि पत्रकार मञ्चले आज आयोजना गरेको ‘प्रविधियुक्त टेलिभिजनको आवश्यकता’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले मन्त्रालयबाट टेलिभिजन र रेडियो सञ्चालनको अनुमति तथा नियमन गर्न सम्भव नभएकाले अधिकार प्राप्त छुट्टै निकाय गठन गर्नुपर्ने आवश्यकता औँल्याए ।


ADVERTISEMENT

# # #


“मन्त्रालयअन्तर्गतको अलग्गै विभाग बनाउन आवश्यक छ”, उनले भने – “अनि विभागले टेलिभिजन र रेडियोको सबै काम गर्छन् ।” मन्त्री कार्कीले संसारमा बढिरहेको प्रविधिको गतिअनुसार नेपालमा तयारी नभएको विचार व्यक्त गरे।

कार्यक्रममा मन्त्रालयका सहसचिव रामचन्द्र ढकालले २०७४ साल वैशाख १५ गतेसम्म महानगर र २०७५ वैशाख १५ सम्म देशभरिका सबै केवल टेलिभिजनलाई प्रविधियुक्त टेलिभिजनमा लैजाने जानकारी गराए । मन्त्रालयले केवल टेलिभिजनलाई प्रविधियुक्तमा लैजानका लागि विसं २०७१ कात्तिकबाट केवल टेलिभिजनको सञ्चालनको अनुमतिपत्र बन्द गरेको छ ।

कार्यक्रममा केवल टेलिभिजन महासङ्घका अध्यक्ष सुधीर पराजुलीले प्रविधिको युगमा केवल टेलिभिजनको विकल्पमा प्रविधियुक्त टेलिभिजनको आवश्यकता रहेको बताए।