काठमाडौँ– एक छोरी, एक छोरा र श्रीमान् श्रीमती । चार जनाको आफ्नो सानो परिवार देखेर दंग पर्थे महिन्द्र बहादुर पौडेल । सुनसरीको इटहरी नगरपालिका–२० का पौडेललाई अब छोराछोरीलाई राम्ररी शिक्षा दिएर सक्षम बनाउन पाएँ हुन्थ्यो भन्ने ध्येय मात्रै थियो । अघिल्लो वर्ष छोरीले एसईई सकेर कलेज जान थालेपछि झन् मनमनै गद्गगद् भएका थिए उनी । छोराछोरीकै लागि उनमा जे पनि गर्न सक्छु भन्ने आँट पनि थपिएको थियो । त्यसैले त, उनी बिहानै पुग्थे खेत खन्न ।


ADVERTISEMENT


तर, केही महिनायता भने महिन्द्रको दिनचर्या फेरिएको छ । सन्तानका भविष्य कोर्न खेतबारी धाउने उनका पाइला अचेल प्रायजसोः मिनभवनस्थित सिभिल अस्पताल पुगिरहेका हुन्छन् । छोरीको कलेजका परीक्षाको रिजल्ट बोक्न खोज्ने उनका हातमा अचेल छोरीको क्यान्सर रिपोर्ट हुन्छन् । छोरीको भविष्य छल्किने उनका आँखामा अचेल छोरीको जीवन बचाउका याचना प्रष्टै देखिन्छन् ।


ADVERTISEMENT

# # #


झण्डै ३ महिनाअघि १७ वर्षीय छोरी मनिषालाई सञ्चो नभएपछि जाँचका लागि नोबेल अस्पताल पुगेका उनलाई त्यहाँका डाक्टरले छोरीलाई ब्लड क्यान्सरका लक्षण देखेको बताए । एकाएक उनी छांगाबाट खसेजस्तै भए । मनमा डर लागेपनि उनलाई अझै पत्यार भने लागेन । त्यसैले फेरि उनी छोरीलाई लिएर विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा क्याम्प) पुगे । त्यहाँ छोरीलाई ब्लड क्यान्सर भएको पुष्टि भएलगत्तै उनले भोलिपल्टै मनिषालाई काठमाडौँको सिभिल अस्पताल ल्याए ।

माघ २६ गते देखि सुरु भएको उपचारबाट मनिषाको स्वास्थ्यमा सुधार पनि देखिएको छ । चिकित्सकले निको हुने बताएपनि उनी अझै खुसी हुन भने सकेका छैनन् । बरु छोरीको थप उपचार कसरी गर्ने ? भन्ने चिन्ताले सताउन थालेको छ । ‘यता उपचार गर्दा झण्डै १० लाख जति सकिसक्यो । भएको पैसा सकेर पनि ऋण लागिसक्यो, अब थप उपचारका लागि आवश्यक रकम कसरी जुटाउने ? उता(घरखेत) को काम पनि गर्न पाएको छैन’, महिन्द्रले सुनाए ।

छोरीलाई क्यान्सर पुष्टि भएपछि नै पौडेल दम्पति काठमाडौँमै छन् । मनिषा भर्खरै पहिलो किमो थेरापी सकिएर अस्पतालबाट डिस्चार्ज भएकी छन् । ‘यसै साताबाट दोस्रो किमो शुरु हुँदैछ । डाक्टरले अझै डेढ वर्ष लाग्छ भनेको छ’, लामो श्वास तान्दै उनले सुनाए ।

आफ्नो छोरीको जीवन बचाउमा लागि परेका यी बाबु अचेल दयालु मनहरुसंग छोरीको जीवन कामनासंगै आर्थिक सहयोगको पनि याचना गरिरहेका छन् । ‘सहयोग गर्न चाहने सहयोगी मनहरुले सहयोग गरे छोरीले पुर्नजीवन पाउँथी’, उनले भने ।

कलिलै उमेरमा क्यान्सरसँग जुधिरहेकी मनिषालाई आर्थिक सहयोग गर्न बुबा (महिन्द्र)संग सोझै सम्पर्क गरेर (९८२६३८२५५६) वा उनको इटहरी शाखाको NIC Asia Bank को  Mahindra Bahadur Poudel को नाममा खोलिएको 0045752977598001 खाता नम्बर मार्फत सहयोग गर्न सकिन्छ ।