काठमाडौँ– चर्चित गजलकार प्रकट पंगेनी ‘शिव’ को निधन भएको छ।


ADVERTISEMENT


स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि पोखराको मणिपाल शिक्षण अस्पताल भर्ना भएका पंगेनीको उपचारका क्रममा मंगलबार दिउँसो निधन भएको अस्पतालले जनाएको छ।


ADVERTISEMENT

# # #


अस्पतालका अनुसार प्रकटलाई निमोनिया र जण्डिसको समस्या देखिएको थियो। कास्कीको रूपा गाउँपालिका घर भएका ७० वर्षीय पंगेनी सोमबार अस्पताल भर्ना भएसँगै भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो।

उनको उपचारका लागि आर्थिक जटिलता भएको र त्यसका लागि पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा आर्थिक संकलन सुरु भए पनि उनी संसार छाडी बिदा भएका छन्। पंगेनीका श्रीमती, एक छोरा र एक छोरी छन्।

पोखरामा रहेर गजल, गीत, कविता लगायत साहित्यका विविध विधामा कलम चलाएका प्रकट श्रृङ्गारिक गजलबाट चर्चा कमाएका थिए। साहित्यको अलावा अभिनयमा पनि उस्तै दख्खल राख्ने पंगेनी २०३५ सालबाट पोखरेली साहित्यिक सर्कलमा जोडिएका पंगेनी नाटकमा पनि सक्रिय भएर लागेका थिए ।

उनले २०३५ सालमै सरुभक्तको लेखन तथा निर्देशन रहेको नाटक ‘एउटा घरको कथा होइन’मा समेत अभिनय गरेका थिए ।