धनगढी – सुदूरपश्चिम प्रदेशका प्रमुख निजर मियाँले मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टी (नाउपा)का दुई सांसदले पेश गरेको दाबी अस्वीकृत गरेका छन् । एकै पार्टीबाट दुई जनाले दाबी गरेकाले निष्कर्षमा पुग्न नसकिएको भन्दै प्रदेश प्रमुखले दुवै दाबी अस्वीकृत गरिएको जनाएका छन् ।


ADVERTISEMENT


साथै उनले नेपालको संविधानको धारा १६८ को उपधारा (२)बमोजिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेस गर्न आज पुनः आह्वान गरेका छन् । प्रदेश प्रमुखका कार्यालयद्वारा जारी विज्ञप्तीमा नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई प्रदेशको मुख्यमन्त्रीमा नियुक्ति गर्नका लागि स्पष्ट दाबीसहित विसं २०८१ वैशाख ६ गते अपराह्न ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेको उल्लेख छ ।


ADVERTISEMENT

# # #


यसअघि उनले गत चैत २३ गते मुख्यमन्त्रीमा दाबी पेसको आह्वान गरेका थिए । जसमा नाउपाका लक्ष्मण किशोर चौधरी र कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । कैलाशलाई नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका केही सांसद, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले समर्थन गरेका थिए भने लक्ष्मणकिशोरलाई नाउपाका संरक्षक रेशम चौधरी पक्षका केही सांसद र नेपाली काँग्रेससहित नेकपा एकीकृत समाजवादीले समर्थन गरेका थिए ।

तर, मंगलबार मात्रै एकीकृत समाजवादी पार्टीले लक्ष्मणकिशोरलाई दिएको समर्थन फिर्ता लिएसँगै सुदूरपश्चिमको राजनीतिमा नयाँ मोड आएको छ । अब केन्द्रको सत्ता गठबन्धनमा सहमति भएअनुसार सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीले पाउने छ । जसअनुसार सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीका दीर्घ सोडारीले मुख्यमन्त्रीको दाबी पेश गर्ने सहमति भएको छ ।