पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सुनुवाइअघि नै विश्वासको मत लिने तयारी थालेका छन् ।


ADVERTISEMENT


मंगलबार गण्डकी प्रदेश मन्त्रिपरिषद्ले प्रदेश प्रमुख डिल्लीराज भट्टलाई विशेष अधिवेशन डाक्न सिफारिस गरेलगत्तै मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने तयारी थालेका हुन् ।


ADVERTISEMENT

# # #


वैशाख ७ गते अधिवेशन बोलाउन सिफारिस पत्र प्रदेश प्रमुख कार्यालयमा पुगेको छ । प्रदेशबाहिर रहेका प्रदेश प्रमुख बुधवार पोखरा फर्किनेछन् । प्रदेश प्रमुख फर्किएपछि आजै अधिवेशन आह्वान गर्ने तयारी भइरहेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

यसैबीच उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समेत भेटेका छन् । अधिकारीले बुधबार बिहान प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेको फोटो फेसबुमार्फत सार्वजनिक गरेका छन् । तर, अधिकारीले गण्डकीको सत्ताको निकासबारे परामर्श गरेको उनी निकट स्रोतले बताएको छ ।

एमाले संसदीय दलका नेता अधिकारीले सभामुखलाई समेत गणना गरेर मुख्यमन्त्रीमा दाबी गरेको थियो । सोही दाबीका आधारमा मुख्यमन्त्री नियुक्त गरेको भन्दै नेपाली कांग्रेस २७ चैतमा सर्वोच्च पुगेको थियो । त्यसै रिटउपर सर्वोच्च अदालतले मुख्यमन्त्री अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णयहरू नगर्न अन्तरिम आदेश दिएको थियो ।

सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले चैत २८ गते सरकारलाई नियमित कार्य सञ्चालन बाहेकका काम नगर्न रोक लगाएको हो । अर्को पेशी वैशाख १० लाई तोकिएको छ । तर, मुख्यमन्त्रीले त्यस अगावै विश्वासको मत लिने तयारीमा जुटेका छन् ।