काठमाडौँ– आसन्न स्थानीय तहको निर्वाचनमा सुरक्षा र विपत् व्यवस्थापनको आवश्यक तयारी हुन नसकेकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।


ADVERTISEMENT


पूर्वप्रहरी कर्मचारी परिषद्द्वारा आइतबार आयोजित कार्यक्रममा पूर्व प्रशासक, सुरक्षाविद्लगायतले स्थानीय चुनावमा स–साना राजनीतिक विषयमा पनि झैझगडा हुनसक्ने हुँदा मुलुकको सीमा र सार्वभौमिकता रक्षा तथा नागरिकको सुरक्षामा संवेदनशील हुनुपर्नेमा जोड दिए । सो अवसरमा पूर्वप्रधानन्यायाधीश केदारप्रसाद गिरीले विगतको अनुभव तथा विभिन्न मुलुकका अभ्यासलाई अवलम्बन गरी निर्वाचनलाई भयरहित र निष्पक्ष बनाउनुपर्ने बताए ।


ADVERTISEMENT

# # #


पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले लोकतन्त्रलाई जीवन्तता दिने तथा मुलुकलाई निरङ्कुशतातर्फ जानबाट रोक्ने विधि भनेको आवधिक निर्वाचन हो भन्दै सरकार तथा राजनीतिक दल निर्वाचनका लागि सकारात्मक भई अगाडि बढेको अवस्थामा सबै क्षेत्रले सहयोग गर्नुपर्नेमा जोड दिए ।

पूर्वगृहसचिव अनन्तराज पाण्डेले निर्वाचनका लागि आवश्यक उपकरण तथा कस्तो सुरक्षा व्यवस्थाको आवश्यक छ, त्यसकाबारेमा भएका चुनौती समयमै सरकारलाई जानकारी गराउनुपर्ने बताए । पूर्वप्रहरी वरिष्ठ उपरीक्षक डा चूडाबहादुर श्रेष्ठले निर्वाचनमा खटिने निजामती कर्मचारी र सुरक्षाकर्मीबीच समन्वय गर्नुपर्नेमा जोडदिँदै सीमावर्ती इलाकामा कडाइ गरी घटनाको विश्लेषणका आधारमा सुरक्षा व्यवस्था अपनाउनुपर्ने सुझाव दिए ।

सहसचिव श्यामसुन्दर शर्माले निर्वाचन ठूलो र महत्वपूर्ण घटना भएकाले सुरक्षाको अनुभूति र भरपर्दो सुरक्षा व्यवस्था आवश्यक रहेको औँल्याए ।

पूर्व प्रधानसेनापति रुक्माङ्गत कटवाल, पूर्वप्रहरी महानिरीक्षक हेमबहादुर सिंह, पूर्वप्रहरी नायब महानिरीक्षक डा कुलेश थापा र ठाकुरमोहन श्रेष्ठ तथा सञ्चारकर्मी कृष्णमुरारी भण्डारी र अश्विन पुडासैनीलगायतले जनताको अधिकारलाई विकेन्द्रीकृत गर्ने अवसरका रुपमा चुनावलाई लिनुपर्ने बताउँदै गैरआवासीय नेपाली तथा चुनावमा खटिने शिक्षक, कर्मचारी र सुरक्षा निकायलाई पनि मतदानको अधिकारको व्यवस्था गराइनुपर्ने आवश्यकतामाथि जोड दिए

पूर्व प्रहरी कर्मचारी परिषद्का अध्यक्ष रमेशबहादुर श्रेष्ठले निष्पक्ष चुनाव सम्पन्न गर्नका लागि नागरिक समाज, प्रबुद्ध समूह, सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हुने विचार व्यक्त गरे ।