पर्वत– ऊर्जा नदीका रूपमा परिचित मोदीखोलासहित पर्वतका अन्य नदीनालामा सम्पन्न भइसकेका र निर्माणाधीन जलविद्युत् आयोजनाबाट ७१ मेगावाट विद्युत् उत्पादन हुँदैछ ।


ADVERTISEMENT


जिल्लाका मोदीखोला र पातीखोलामा गरी पाँचवटा जलविद्युत् आयोजनाबाट कुल ७१ दशमलव ३ मेगावाट विद्युत् उत्पादन हुन लागेको हो । आगामी दुई वर्षभित्र सक्ने गरी निर्माणाधीन र निर्माण सम्पन्न साना ठूला पाँच आयोजनाले यो क्षमतामा विद्युत् उत्पादन गर्ने लक्ष्य लिएका छन् । पर्वतमा हाल कुल २५.५ मेगावाट क्षमताका विद्युत् आयोजना सञ्चालनमा छन् । जिल्लाका थोरै पानीमा धेरै उत्पादन हुने सम्भाव्यता बोकेका मोदीखोलालगायत नदीनालामा लगानी गर्न व्यवसायी आकर्षित भएका छन् । मनाङ ट्रेड लिङ्क र साउथ एसियन इन्फ्रास्ट्रक्चरले जिल्लाको परादीमा निर्माण गरिरहेको आयोजना सम्पन्न गरेपछि २० मेगावाट विद्युत् उत्पादन हुनेछ ।


ADVERTISEMENT

# # #


रु तीन अर्ब ६० करोड लाग्ने अनुमान गरिएको मोदीखोला आयोजनाको अहिले ९० प्रतिशत काम पूरा भइसकेको र चालु आवभित्रै उत्पादन दिने लक्ष्य राखिएको आयोजना प्रमुख पवनकुमार यादवले बताए । आयोजनाको हालसम्म बाँध, टनेल, पावरहाउस र इन्टेकलगायतको काम पूरा भइसकेको छ । चार हजार दुई सय मिटर सुरुङ मार्ग खनी निर्माण भइरहेको यो आयोजना जिल्लामा हालसम्मकै ठूलो मानिन्छ । मोदी खोलामै १५ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजना निर्माणाधीन छ ।

जिल्लाको मोदी गाउँपालिकास्थित भुकदेउराली र देउपुरमा निर्माणधीन उक्त जलविद्युत् आयोजनाबाट १५ मेगावाट क्षमताको विद्युत् उत्पादन हुनेछ । त्यस्तै, युनाइटेड मोदी हाइड्रोपावरले निर्माण गर्ने तल्लो मोदीखोला–२ जलविद्युत् आयोजनाबाट १०दशमलव पाँच मेगावाट क्षमताको विद्युत् उत्पादन हुनेछ । हाल मोदीखोला जलविद्युत् आयोजनाले १४दशमलव आठ मेगावाट क्षमताको विद्युत् उत्पादन गरिरहेको छ भने तल्लो मोदीखोला–१ जलविद्युत् आयोजनाले १० मेगावाट क्षमताको विद्युत् उत्पादन गरिरहेको छ । उता पातीखोलामा रहेको पातीखोला जलविद्युत् आयोजनाले एक मेगावाट विद्युत् उत्पादन गरिरहेको छ ।

उत्खननको पर्खाइमा प्रदेशकै ठूलो माटेको ढुङ्गाखानी

लामो समयदेखि बन्द अवस्थामा रहेको प्रदेश नं ४ कै सबैभन्दा ठूलो माटेको ढुङ्गाखानी सञ्चालन गर्न स्थानीयवासीले माग गरेका छन् । पर्वत जिल्लको मोदी गाउँपालिका–४ मा अवस्थित माटेको लेकमा रहेको ढुङ्गाखानी उत्खनन गर्न आसपासका बासिन्दाले माग गरेका हुन् ।
तत्कालीन चार गाविसको विवादका कारण करिब दुई दशकअघि देखि बन्द भएको ढुङ्गाखानी अझै पनि सञ्चालनमा आउन सकेको छैन । अहिलेको मोदी गाउँपालिकामा पर्ने क्याङ, देउपुर, देउराली र भुकताङ्ले गाविसका बासिन्दाबीच खानी सञ्चालनमा विवाद बढ्दै गएपछि जिल्ला वन कार्यालयले ढुङ्गा निकाल्नका लागि प्रतिबन्ध लगाएको छ ।

चारवटै गाविसले उक्त ढुङ्गाखानी आ–आफ्नो गाविसभित्र पर्ने भन्दै दाबी गरेकाले विवादमा परेको हो । सम्बन्धित गाविसले आ–आफ्नो गाविसको भन्दै दाबी गर्न थालेपछि कुन गाविसभित्र पर्छ भन्ने पुष्टि भइनसकेकाले सञ्चालनमा नआए पनि अहिले चारवटै गाविसका बासिन्दाले सहमति गरेर सञ्चालनमा ल्याउन माग गरे पनि सञ्चालन हुन नसकेको स्थानीयवासी दाताराम चापागार्इंले जानकारी दिए।

चार गाविसमा बढी चिसो हुने र जस्ता पाताभन्दा ढुङ्गाले घरगोठका छाना छाउँदा उपयुक्त हुने भएकाले सहमति गरेर खानी सञ्चालनमा ल्याउन चार वर्षदेखि नै माग हुँदै आएको थियो । उनीहरुले समिति नै बनाएर खानी सञ्चालनको प्रयास गरी ढुङ्गाको आकार र साइजअनुसार साइली ढुङ्गालाई रु ११०, माइलीलाई रु १२०, डबल धोतीलाई रु ६० र अन्य ढुङ्गालाई रु एक सय र रु ९० प्रति वर्गमिटरका दरले बिक्री गर्नेगरी दर कायम गरेका थिए ।

उक्त खानीबाट निकालिएका ढुङ्गा क्याङ, शालिजा, देउपुर, देउराली, भुकताङलेलगायत गाविसमा छाना छाउने मात्र नभई धौलागिरि अञ्चलका पर्वत, बाग्लुङ, म्याग्दीका विभिन्न गाविसमा जाने गर्दथे । जस्तापाताभन्दा ढुङ्गा नै प्रयोग गर्नु राम्रो भएकाले सबै गाविसवासीको भेलाले सहमति गरेर खानी सञ्चालन गर्न माग गरेपनि विभिन्न कारणले सञ्चालनमा ल्याउन नसकेको तत्कालीन क्याङ गाविसका पूर्वगाविस अध्यक्ष नरसिंह पुनले बताए ।

खानी बन्द हुने बेलामा सामुदायिक वनमा पनि विवाद थियो । अहिले वनको विवाद समेत टुङ्गिएको छ । खानीमा प्रशस्त ढुङ्गा छन् । खानी सञ्चालनमा आएपछि दैनिक एक सय जनाले प्रत्यक्ष रुपमा रोजगारी पाउने पुनले जानकारी दिए । यहाँका ढुङ्गा घर, गोठ, मतान छाउन प्रयोग हँुँदै आएका थिए । जस्तापाताभन्दा ठूलो आकारमा आउने, बलियो र टिकाउ भएकाले मानिस अहिले पनि ढुङ्गाले छाउन मन पराउने गर्दछन् । एक पटक छाएको घर दुई÷तीन पुस्तासम्म पुग्ने गाउँलेको भनाइ छ ।

सार्वजनिक जग्गाभित्र एक किलोमिटर क्षेत्रफलमा ढुङ्गाका पाँचवटा खानी छन् । दुई दशकअघि उक्त खानीबाट निकालिएका ढुङ्गा छिमेकी जिल्ला बागलुङ, पोखरा, काठमाडौँ हुँंदै जापान, अमेरिकासमेत लगेको स्थानीय एक वृद्धको भनाइ छ । उत्तरी पर्वतका अधिकांश गाविसका अधिकांश घर ढुङ्गाले छाइएका छन् । “पहिला खानी सञ्चालन हुंँदा गाउँलेले राम्रै रोजगारी पाएका थिए”, स्थानीय हर्कबहादुर पुनले भने–“रोजगारी गुमेपछि कोही विदेशतिर गए त कोही गाउँमै मजदुरी गर्दै आएका छन् ।” खानी तीन हजार एक सय मिटरको उचाइमा रहे पनि आसपासमा बस्ती नभएकाले ढुङ्गा निकाल्दा कुनै असर पर्दैन ।


ADVERTISEMENT

#
#


असिना पर्दा र अरू कारणले मात्रै ढुङ्गा फुट्ने र एक पटक लगानी गरेपछि वर्षौंसम्म कुनै झन्झट नहुने भएकाले यो लोकप्रिय बनेको छ । “माटेको ढुङ्गा पाइएमा मानिसले महँगो शुल्क तिरेरै भए पनि छाउने गरेका थिए”, स्थानीयवासी नरबहादुर पुनले भने, “ढुङ्गाखानी बन्द हुँदा बजारबाट जस्तापाता ल्याएर घर छाउनुपर्ने बाध्यतामा रहेको छ । जिल्लाबाहिर समेत मार्बलका रुपमा निकासी गर्न सकिने सम्भावना भएकाले र स्थानीयवासीको रोजगारीको सुनिश्चिताका लागि समेत खानीलाई व्यवस्थित रुपमा सञ्चालनमा ल्याउनुपर्ने माग छ । रासस

प्रतिकृया

प्रतिकृया