काठमाडौँ– सरकारले अति विशिष्ट व्यक्ति (राष्ट्रपति र प्रधानमन्त्री) को प्रयोजनका लागि एकथान इटालियन हेलिकोप्टर खरिद गर्न नेपाली सेना (जंगी अड्डा) लाई १ अर्ब ७० करोड रुपैयाँ उपलब्ध गराएको छ । सरकारले यो आर्थिक वर्ष ०७४/०७५ को पहिलो ६ महिनामा जहाज तथा हेलिकोप्टर खरिद गर्न साढे २ अर्ब रुपैयाँभन्दा बढी रकम सेनालाई उपलब्ध गराइसकेको छ । यो खबर सुरेन्द्र पौडेलले आजको नागरिकमा लेखेका छन्।


ADVERTISEMENT


‘अति विशिष्ट व्यक्ति (भिभिआइपी) को प्रयोजनका लागि इटालियन अगस्टा वेस्टल्यान्ड हेलिकप्टर खरिद गर्न अर्थ मन्त्रालयले नेपाली सेनालाई एक अर्ब ७० करोड रुपैयाँ उपलब्ध गराएको छ,’ सेनाका प्रवक्ता गोकुल भण्डारीले नागरिकलाई जानकारी दिए, ‘हेलिकप्टर खरिद गर्ने सम्झौता पहिले नै भइसकेको छ । अब छिटै हेलिकप्टर आउँछ ।’


ADVERTISEMENT

# # #


मन्त्रिपरिषद्को २०७४ जेठ १९ गतेको बैठकले भिभिआइपीका लागि इटालियन हेलिकप्टर निर्माण कम्पनी अगस्टा वेस्टल्यान्डसँग एक थान हेलिकप्टर खरिद गर्न सेनालाई स्वीकृति दिएको थियो । सोही निर्णयको आधारमा अर्थ मन्त्रालयले गत पुस २० गते सेनालाई १ अर्ब ७० करोड रुपैयाँ निकासा गरिदिएको छ । ‘जिटुजी प्रक्रियामार्फत हेलिकप्टर खरिद गरिएको छ,’ प्रवक्ता भण्डारीले भने ।नेपाली सेनासँग अहिले १८ वटा हेलिकप्टर छन् । यीमध्ये १३ वटा चालू अवस्थामा र ५ वटा मर्मत सम्भारको पर्खाइमा छन् । चालू अवस्थामा रहेका हेलिकप्टरमध्ये ३ वटा एमआई–१७ र १० वटा साना छन्।

रक्षा मन्त्रालय स्रोतका अनुसार यो आर्थिक वर्ष सुरु भएपछि २ वटा ट्रेनर जहाज र २ वटा हेलिकप्टर खरिद गर्न अर्थले सेनालाई २ अर्ब ५७ करोड ३६ लाख ३८ हजार ९ सय ९५ रुपैयाँ निकासा गरिसकेको छ । यो रकम सरकारले विज्ञान तथा प्रविधि मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयलाई उपलब्ध गराउने वार्षिक बजेटभन्दा बढी हो । सरकारले आर्थिक वर्ष २०७४/७५ मा विज्ञान प्रविधि मन्त्रालयका लागि १ अर्ब २१ करोड, सहकारी तथा गरिबी निवारण मन्त्रालयका लागि १ अर्ब ६६ करोड, युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब २४ करोड र महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका लागि २ अर्ब २२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

मन्त्रिपरिषद् बैठकले दुईवटा ट्रेनर जहाज खरिद गर्न गत भदौ २३ गते सेनालाई ८ करोड ५६ लाख ३८ हजार ९ सय ९५ रुपैयाँ दिने निर्णय गरेको थियो । यसअघि दुईवटा जहाज खरिद गर्नका लागि सरकारले बजेटमै ३७ करोड रुपैयाँ छुट्याएको थियो । बजेटमा व्यवस्था गरेको रकमले नपुग भएको भन्दै सेनाले थप रकम माग गरेपछि अर्थले गत कात्तिक महिनामा उक्त रकम सेनालाई निकासा गरिदिएको थियो । सैनिक तालिमका लागि भन्दै अर्थले जहाज किन्न सेनालाई उक्त रकम निकासा गरेको हो ।

गत असोज महिनामा पनि अर्थले सेनालाई एउटा हेलिकप्टर खरिद गर्न भन्दै रकम निकासा गरेको थियो । असोज १८ गते अर्थ मन्त्रालयले नेपाली सेनाको विपद् व्यवस्थापन क्षमता अभिवृद्धिका लागि ‘लाइट हेलिकप्टर’ खरिद गर्न ४१ करोड ८० लाख रुपैयाँ रकमान्तर गरी निकासा दिएको थियो ।

यसका अतिरित्त सेनाले थप दुई थान एमआई–१७ भी–५ हेलिकप्टर खरिद प्रक्रिया अघि बढाएको छ । सेनाले रुसको सरकारी स्वामित्वमा रहेको हेलिकप्टर कम्पनी रोसोबोरोनेक्सपोर्टसँग हेलिकप्टर खरिद गर्न छलफल अघि बढाएको छ । अमेरिकाले उक्त रुसी कम्पनीमाथि प्रतिबन्ध लगाएका कारण रकम भुक्तानी गर्न कठिनाइ भएपछि अहिले सेना र रोसोबोरोनेक्सपोर्टबीच कसरी रकम पठाउने भन्ने विषयमा छलफल भइरहेको छ ।‘सरकारले दुईवटा एमआई–१७ भी–५ हेलिकप्टर खरिद गर्न सेनालाई अनुमति दिइसकेको छ । अहिले खरिद प्रक्रिया अघि बढिरहेको छ,’ सैनिक प्रवक्ता भण्डारीले भने ।