काठमाडौँ — नेपाली श्रमिक कार्यरत प्रमुख गन्तव्य मुलुकमा खटिएका १३ नेपाली राजदूत र नियोगका प्रतिनिधि काठमाडौँ आइपुगेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएपछि उनीहरु काठमाडौं आइपुगेका हुन् । श्रम गन्तव्यलाई सुरक्षित बनाउन र मानव तस्करीलाई रोक्ने उद्देश्यले छलफल गर्न प्रधानमन्त्री प्रचण्डले राजदूत र नियोगका प्रतिनिधिहरूलाई काठमाडौं बोलाएका हुन् ।
सोमबार र मंगलबार दुई दिनसम्म चल्ने बैठकमा विभिन्न माध्यम र रूपमा भइरहेको मानव तस्करीलाई कसरी रोक्ने र श्रम गन्तव्यलाई कसरी सुरक्षित बनाउने भन्नेमा छलफल केन्द्रित हुने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डकै अध्यक्षतामा बस्ने बैठकमा श्रम तथा रोजगार मन्त्रालय र परराष्ट्र मन्त्रालयको सक्रिय सहभागिता रहने छ ।
उनीहरूले प्रधानमन्त्री प्रचण्डसहित, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायाणकाजी श्रेष्ठ, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी र परराष्ट्रमन्त्री एनपी साउद समक्ष बिफ्रिङ गर्ने छन् ।