काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्रले एउटै व्यक्ति पाँचचोटी प्रधानमन्त्री हुनु लज्जाको कुरा भएको तर्क गरेका छन् ।
आइतबार काठमाडौँमा आयोजित ‘आजको सन्दर्भमा राष्ट्रिय मेलमिलाप नीतिको अन्तर्य र औचित्य’ विषयक विचार गोष्ठीमा उनले एउटै व्यक्ति पाँचचोटी प्रधानमन्त्री हुन गौरवको कुरा नभइ लज्जास्पद भएको तर्क गरेका हुन् ।
‘आर्थिक अवस्था न्यून छ र नेताहरु कुनै पनि बेला पाँच चोटीबाट ७ चोटीसम्म प्रधानमन्त्री बन्न तयार भएर बसेका छन् । पाँचपटक प्रधानमन्त्री हुनु गौरवको कुरा होइन लज्जास्पद हो ।’
उनले जो जतिपटक प्रधानमन्त्री भएपनि देश विकास गर्न नसकेको बताए । धेरै पटक प्रधानमन्त्री हुनुभन्दा आफ्नो नेतृत्वमा के काम भयो भन्ने महत्वपूर्ण भएको उपाध्यक्ष मिश्रले बताए ।
नेपालमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचचोटी प्रधानमन्त्री भइसकेका छन् ।