काठमाडौँ – जिल्ला अदालत काठमाडौँले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
जिल्ला अदालत काठमाडौँका श्रेष्तेदार तीर्थराज भट्टराईका अनुसार मिश्रलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
गत चैत १५ गते पक्राउ परेका मिश्रसहितका आरोपितलाई आठौँपटक म्याद थपका लागि आज अदालत लगिएको थियो । राजावादीले गत चैत १५ गते काठमाडौँको तीनकुनेमा आयोजना गरेको प्रदर्शन हिंसात्मक भएपछि त्यसमा भूमिका खेलेको आरोपमा मिश्रलगायतमाथि प्रहरीले विभिन्न अभियोगमा अनुसन्धान गरिरहेको छ ।
नेता मिश्रमाथि प्रहरीले राज्यद्रोह, सङ्गठित अपराध, आपराधिक उपद्रव कसुरमा अनुसन्धान गरिरहेको छ । उक्त आन्दोलनको नेतृत्व गरेका दुर्गा प्रसाईं पनि थुनामै छन् । प्रसाईंलाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग कसुर लगाएको छ ।