काठमाडौं-एमाले अध्यक्ष केपी ओली बिहीबार स्वदेश फर्कने भएका छन् । थाइल्यान्डको बैंककस्थित बुमरुङगार्ड अस्पतालमा नियमित स्वास्थ्य परीक्षणपछि उनी बिहीबार स्वदेश फर्कने भएका हुन् ।


ADVERTISEMENT


‘चिकित्सकहरूले सोमबार उहाँ पूर्णस्वस्थ रहेको प्रतिवेदन दिएका छन्’ ओलीका प्रेस संयोजक चेतन अधिकारीले भने,‘ चिकित्सकहरूसँग अन्तिम परामर्श गरेर बिहीबार अपरान्ह स्वदेश फर्किने कार्यक्रम छ ।’


ADVERTISEMENT

# # #


अधिकारीका अनुसार ओलीको मिर्गौलासहितका अंगहरूको परीक्षण गरिएको छ । स्वास्थ्य परीक्षणका लागि ओली २६ पुसमा बैंकक प्रस्थान गरेका थिए । ओलीसँगै गएका चिकित्सकद्वय डा. दिव्या सिंह र डा. यादव भट्ट आइतबारै स्वदेश फर्किसकेका छन् ।

नियमित स्वास्थ्य परीक्षण सकिएकाले ओलीले मंगलबार र बुधबार निजी पारिवारिक भ्रमणमा बिताउने भएका छन् । उनी दुई दिन बैंककबाहिरको निजी भ्रमणमा रहने एमाले प्रचार विभागका सचिव विष्णु रिजालले जनाएका छन् ।