काठमाडौं– राष्ट्रिय जनमोर्चा नेपालले सोमबार गिरफ्तारीमा परेका डा. गोविन्द केसीको तत्काल रिहाइको माग गरेको छ ।
आज एक विज्ञप्ति जारी गर्दै सो पार्टीले डा. केसीको तत्काल रिहाइको माग गरेको छ । डा. केसीको गिरफ्तारीप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै जनमोर्चाले उनीमाथि राज्यले अप्नाएको रबैयाको घोर विरोध समेत गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, संविधानले नागरिकहरूलाई अभिव्यक्तिको स्वतन्त्रताको ग्यारेन्टी गरेको छ । त्यसका साथै देशको न्याय प्रणाली स्वच्छ र निष्पक्ष प्रकारको होस् भनेर आवाज उठाउनु पनि सबै नागरिकहरूको अधिकारभित्रको कुरा हो । त्यो अवस्थामा नागरिकलाई प्राप्त संवैधानिक अधिकारको प्रयोग गरेको तथा न्याय प्रणालीको स्वच्छता र निष्पक्षतामा जोड दिएको कारणले डा। के।सी।लाई गिरफ्तार गर्नु सही भएको छैन । उनको गिरफ्तारीका लागि पनि जुन तरिका अपनाइयो, त्यो न्यायसंगत रहेको छैन ।
डा।केसीलाई एउटा अपराधीलाई झै रातको समयमा गिरफतार गरिनु न्याययिक संयमताको समेत पालना नभएको जनाउँदै विज्ञप्तिमा भनिएको छ, मानहानिका मुद्दाहरूमा प्रायशः अदालतमा हाजिर हुनका लागि पुर्जी काट्ने गरेका उदाहरणहरू छन् । त्यसको विपरीत उनलाई पक्रेर नै हाजिर गराउने आदेश दिइयो ।
उनलाई गिरफ्तार गर्दा पनि कुनै अपराधिलाई जस्तै रातको समयमा गिरफ्तार गरियो । उनीसित व्यवहार गर्दा कानूनको न्यायीक संयमताको पनि पालना गरेको देखिएन । हाम्रो पार्टीले उनीप्रतिको त्यस प्रकारको व्यवहारको विरोध गर्दै डा. केसीको शीघ्र रिहाईको माग गर्दछ ।