काठमाडौं-पूर्वमा मापदण्डविपरीत औषधि पसल (फार्मेसी) सञ्चालनमा रहेको पाइएको छ । अनधिकृत रूपमा औषधि पसल सञ्चालनमा रहेको पाइएपछि औषधि व्यवस्था विभागले कारबाहीलाई तीव्रता दिने जनाएको छ ।


ADVERTISEMENT


६ महिनाको अवधिमा २७ पसललाई विभागले कारबाहीको दायरामा ल्याइसकेको छ । ‘मापदण्डविपरीत सञ्चालनमा रहेका पसल बन्द गराउँछौं’, विभागको विराटनगर कार्यालयका फार्मेसी अधिकृत विजय कार्कीले भने ।


ADVERTISEMENT

# # #


पूर्वका सप्तरी, मोरङ, सुनसरी, झापा, भोजपुर, इलाम, धनकुटा, ताप्लेजुङलगायत जिल्लाका औषधि पसल मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएको हो ।

प्रतिबन्धित औषधि बिक्रीवितरण हुने गरेको, अनुमतिपत्र नलिई व्यवसाय गरिरहेको, आयुर्वेदिक औषधि बिक्रीवितरण हुने गरेको र नवीकरण नभएकोलगायत अवस्थामा औषधि पसल सञ्चालनमा रहेको फेला परेको विभागले जनाएको छ ।

यस्ता फार्मेसीलाई विभागीय कारबाही र औषधि ऐन २०३५ बमोजिम कारबाही अघि बढाएको कार्कीले जानकारी दिए । उनका अनुसार कैफियतका आधारमा मापदण्डविपरीत सञ्चालितलाई कागजात पुर्‍याउन समय तोक्ने गरिएको छ ।

विभागले तोकिएको म्यादमा बिक्रीवितरणमा रोक लगाई दर्ता प्रमाणपत्र निलम्बनसमेत गर्दै आएको छ । अनुगमनका क्रममा विभागमा दर्ता नभएको धेरै औषधि पसलमा पाइएको छ ।

डर्मीकेम ओसी, लेवोडर्मा, जेनेग्र १०० एमजी, स्किन साइन, फोरड्रिम, निसिपपल्ससहित गर्भपतन गराउने औषधिका किट फेला परेको कार्कीले बताए । विराटनगर-९ मा दायाराम यादवले सञ्चालन गरेको सत्यम मेडिसिन सेन्टर, १० मा प्रवेश यादवले सञ्चालन गरेको शिवालय फार्मेसी, विजय सिंहले सञ्चालन गरेको ओसिस मेडिकल, १५ मा प्रदीप रेग्मीको नाममा रहेको र रामगोपाल महतोले व्यवसाय गर्दै आएका रैताहलेसी फार्मेसी मापदण्डविपरीत सञ्चालन गरेको पाइएपछि निलम्बन गरेको हो ।

पूर्वाञ्चलमा तीन हजार पाँच सय औषधि पसल सञ्चालनमा छन् । चार ठूला उद्योगसहित आयुर्वेदिकका नौ उद्योग छन् ।