गुल्मी– आर्थिक अभाव भएर उपचार गर्न नसकेपछि गुल्मीमा एक व्यक्ति आफ्नो मृत्युलाई कुर्दै बसेका छन् ।


ADVERTISEMENT


जिल्लाको चन्द्रकोट गाउँपालिका–८, तुराङका २९ वर्षीय मेघबहादुर कुमाल आजभन्दा १३ वर्षअघि भारतको जोधपुरमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका थिए ।


ADVERTISEMENT

# # #


घाइते बनेका उनलाई चन्दा उठाएर त्यहाँ रहेका नेपालीको सहयोगमा घर पठाइएको थियो । खुट्टा र ढाडमा गम्भीर चोट लागेर घर फर्किएका कुमाललाई आर्थिक अभावका कारण उनकी श्रीमती माया कुमालले उपचार गर्न सकिनन् ।

उनको पूरै घरबास बेचे पनि उपचार सम्भव नभएपछि दिन प्रतिदिन गल्दै गएका उनका श्रीमान्को शरीर अहिले कुहिँदै जान थालेको छ । ओछ्यानमै दिसा पिसाब गरेर लडिरहेका कुमालको उद्धारका लागि छिमेकी गाउँ बलिथुमका समाजसेवी लब्सन महतले सञ्चारमाध्यमसँग आग्रह गरेका छन् । तीन महिना पनि खान नपुग्ने जमिन नभएका कुमाल परिवारमा बिहान बेलुकाको चुलो जलाउन पनि मुस्किल छ ।

श्रीमान्लाई दिसा पिसाब गराउनेदेखि अर्काको मेलापात गरेर मायाले श्रीमान्को रेखदेख गरिरहेकी छन् । श्रीमान् विस्तारामा सुतेरै माछा मार्ने जाल बुन्छन् । उनको ढाँडको घाउ पाकेर घरै दुर्गन्धित हुने गरेको छ ।

गहभरि आँसु पार्दै मेघलाल भन्छन् – “म मरे पनि मेरो छोरा पढाइदिने मान्छे कोही भइदिए धन्य हुने थिएँ ।” श्रीमती माया भने कुहेको शरीर भए पनि श्रीमान्लाई सधैँ बाँचेको देख्न चाहन्छिन् ।