काठमाडौँ– नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले कांग्रेसले अब देश विकासको लागि बलियो प्रतिपक्षीको भूमिकामा आफूलाई प्रस्तुत गर्न तयार रहनुपर्ने बताएकी छन् ।


ADVERTISEMENT


राजधानीमा निर्वाचन समिक्षात्मक एक गोष्ठी गर्दे उनले जनताले नेपाली कांग्रेसलाई पाँचवर्षसम्म मुलुकको बलियो प्रतिपक्षमा बस्नेगरी मत दिएकाले आफ्नो भूमिका सबल रुपमा निभाउनुपर्ने बताइन् । जनताको मतलाई स्वीकार गर्नुपर्ने भन्दै उनले भनिन्, ‘निर्वाचन सकिएर मतपरिणाम आइसकेको छ । जनताको मतलाई हामीले स्वीकार गर्नैपर्छ । जनताले हामीलाई अब पाँच वर्षसम्मको लागि प्रतिपक्षको भूमिका दिएका छन् । त्यस कारण संसद्मा प्रतिपक्षीको भूमिका जिम्मेवारपूर्वक निर्वाह गर्नुपर्छ ।’ उनले सरकारलाई सही मार्गमा हिँडाउनका लागि कांगेसले बलियो प्रतिपक्षीको भूमिकाका साथ काम गर्नुपर्ने बताइन् ।


ADVERTISEMENT

# # #


आजको कांग्रेस विपी र गिरिजा बाबूको पालाको जस्तो नदेखिनु नै निर्वाचनमा हारको कारण भएको भन्दै उनले भनिन्, ‘हामीले हाम्रा सिद्धान्त राष्ट्रियता, लोकतन्त्र र समाजवाद नै बिर्सियौँ । यही कारणले पनि जनताले कांग्रेसलाई साथ दिएनन् ।’
ओलीले राष्ट्रियता, स्थायी सरकार र विकास निर्माणलाई प्राथमिकता दिएकाले बहुमत आएको बताउँदै उनले कांग्रेसका त्यसको अभावका कारण निर्वाचनमा जनताले साथ नदिएको जिकिर गरिन् ।

कांग्रेसको हारको अर्को प्रमुख कारण पार्टीभित्रको गटबन्दी, असन्तुष्टी भएको बताइन् । उनले भनिन्, ‘नेपाली कांग्रेसको यो अवस्था आउँछ भन्ने मलाई निर्वाचन पहिले नै थाहा थियो । किनभने पार्टी भित्रको गुटबन्दी, झगडा र असन्तुष्टिका कारण हाम्रो संगठन एकदमै कमजोर भएको थियो ।’

कांग्रेसको स्पष्ट एजेण्डा र सही नेतृत्व नभएका कारण विगतदेखि नै कांग्रेसलाई भोट दिँदै आएका पनि चुनावको मुखमा वाम गठबन्धनमा प्रवेश गरेपछि कांग्रेसको पराजय हुन गएको उनको भनाई थियो ।

अब पार्टीमा सबैमा सहमतीको भावना कायम गर्नुपर्ने भन्दै उनले भनिन्, ‘अब सहमती, सहकार्य र एकता कायम गर्दै जानुपर्छ । यसको अभावमा पनि हामी पछि परेका हौँ । हामीले भन्ने गरेका हाम्रा सिद्धान्तहरुमा हामी पछि पयौँ । तिनीहरुको पालना गरेर देशको हितका लागि काम गर्नुपर्छ । आफ्नो संगठनलाई बलियो बनाउँदै अगाडी जानुपर्छ ।’