काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र नेपालका लागि साउदी अरेबियाका राजदूत साद नासेर अब्दुल्ला अबु हैमदबीच भेटवार्ता भएको छ । राजदूत हैमदले शुक्रबार मन्त्रालय पुगेर मन्त्री कुँवरसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।


ADVERTISEMENT


भेटमा साउदी अरेबियामा काम गर्ने नेपाली श्रमिकको सुरक्षाका विषयमा छलफल भएको छ । मन्त्री कुँवरले साउदी अरेबियामा काम गर्न जाने नेपालीको समस्या र उनीहरुको सुरक्षाका लागि सहकार्य गर्नु पर्नेमा जोड दिए ।


ADVERTISEMENT

# # #


उनले साउदी अरेबियासँग नेपालले समयमै द्धिपक्षीय श्रम सम्झौता गर्न नसकेकाले श्रम आप्रवासनका क्षेत्रहरु व्यवस्थित हुन नसकेको बताए ।। त्यस्तै उनले राजदूत हैमदलाई दुई देशबीचको श्रम सम्झौताको काम अगाडी बढिसकेकाले चाँडै श्रम सम्झौता हुने जानकारी गराए ।

उनले नेपालबाट साउदीमा सीपयुक्त जनशक्ति पठाउनका लागि त्यहाँको सरकारले पनि सहयोग गर्नु पर्ने बताए । त्यस्तै उनले साउदीमा काम गर्ने नेपाली कामदारलाई त्यहाँको सरकारले रोजगारको अवधि सकिएपछि बहिर्गमन भिसा समयमै नदिँदा नेपालीले कामदारले समस्या भोग्ने गरेकाले यसमा विशेष सहयोग गरिदिन आग्रह समेत गरे ।

भेटमा राजदूत हैमदले नेपाल र साउदी अरेबियाको सम्बन्ध मैत्रीपूर्ण भएकाले नेपाली कामदारले भोग्ने गरेका समस्या समाधानका लागि आफुले सक्दो पहल गर्ने बचन दिए ।