काठमाडौं – छिमेकी मुलुक भारतको अर्थतन्त्रका कारण नेपाली अर्थतन्त्र मन्दीमा जाने सम्भावना छैन । विश्वका अधिकांश बलिया अर्थतन्त्रको तुलनामा भारतीय अर्थतन्त्र सुरक्षीत भइदिँदा नेपाली अर्थतन्त्रलाई फाइदा पुगेको हो ।


ADVERTISEMENT


भारतीय मुद्रासँगको स्थीर विनिमय दर तथा वैदेशिक व्यापारको अधिकांश हिस्सा भारतमै निर्भर भएकाले पनि सकारात्मक प्रभाव नेपाली अर्थतन्त्रमा परेको छ । नेपाली मुद्राको विनिमय दर भारतीय मुद्रासँग स्थीर अन्य मुलकसँग पेग गरिएको छ । त्यसले गर्दा पनि भारतीय अर्थतन्त्रमा देखिन सक्ने जोखिमले नेपाली अर्थतन्त्रलाई पनि प्रभाव पर्छ ।


ADVERTISEMENT

# # #


तर, पछिल्लो समयमा भारतीय अर्थतन्त्रमा देखिएको न्यून जोखिमका कारण नेपाली अर्थतन्त्र पनि सुरक्षित भएको छ । कोरोना महामारी लगत्तै सुरु भएको रुस र युक्रेन युद्धले विश्व अर्थतन्त्र नै तरङ्गित भएको छ । त्यतिमात्र नभई बलिया भनिएका अमेरिका चिन तथा अधिकांश यूरोपेली मुलुको अर्थतन्त्र मन्दी उन्मूख छ ।

विश्वको पछिल्लो आर्थिक अवस्थालाई आधार बनाएर अमेरिकी सञ्चार माध्यम ब्लुम्बर्गले गरेको अध्ययन अनुसार अन्य मुलुकको तुलनामा भारतीय अर्थतन्त्रमा मन्दी आउने जोखिम शून्य रहेको देखाएको छ । मुद्रास्फीति नियन्त्रण गर्न केन्द्रीय बैंकहरुले औसत ब्याजदर बढाएपछि विश्वव्यापी रुपमा आर्थिक मन्दी हुने सम्भावना बढेको अवस्थामा भारतीय अर्थतन्त्रमा त्यसको नकारात्मक असर शून्य रहेको अध्ययनले देखाएको छ ।

भारतीय अर्थतन्त्रको वृद्धि अनुसार नेपालको नहुने बताउँदै अर्थशास्त्री डा विश्वास गौचनले भारतमा मन्दी आएको खण्डमा पनि नेपाली अर्थतन्त्रलाई खासै प्रभाव नपर्ने बताए । “भारतमा रहेका नेपाली कामदार बेरोजगार हुने र निर्यातको माग घटेको खण्डमा मात्र हामीलाई असर गर्छ,”उनले भने,“तर, हाम्रो निर्यात नगन्य भएकाले खासै असर गर्दैन ।” भारतीय अर्थतन्त्रमा जोखिम छैन भने नेपाली अर्थतन्त्र पनि झनै सुरक्षित हुने उनको बुझाई छ ।

भारतको सवा अर्बको जनसङ्ख्यामा १० देखि १५ लाख नेपाली कामदार रहेको हुनाले भारतमा मन्दी नै आए पनि बेरोजगार हुने सम्भावना समेत न्यून हुने उनको भनाई छ ।

“त्यसै पनि नेपालको अर्थतन्त्र मन्दीमा जने जोखिम भित्र छैन,” उनले भने,“भारतीय अर्थतन्त्रका कारण झनै सकारात्मक प्रभाव पर्ने भयो ।” बाह्य आर्थिक स्थीतीमा परेको दबाब नेपालको जस्तै भारतका पनि रहेको उनले बताए । त्यतीमात्र नभई विश्वका अधिकांश मुलुकको बाह्य स्थीतिमा दबाब परेको उनको भनाई छ ।

आकासिएको मूल्यवृद्धि नियन्त्रण गर्न एशियाली राष्ट्रहरुले पनि औसत ब्याजदर बढाउने कार्य गरिहेका छन् र त्यससँगै आर्थिक मन्दीको सम्भावना पनि उच्च हुँदै गएको छ । ब्लुम्बर्गको अध्ययनले दक्षिण एशियाली राष्ट्र श्रीलंकामा आर्थिक मन्दी हुने सम्भावना ८५ प्रतिशत रहेको जनाएको छ । श्रीलंका अहिले स्वतन्त्रता पछिको जीर्ण आर्थिक अवस्थाबाट गुज्रिरहेको छ । यस अघि गरिएको अध्ययनमा श्रीलंकामा आर्थिक मन्दीको सम्भावना ३३ प्रतिशत रहेको भनिएको थियो तर देशको आर्थिक अवस्था दिनानुदिन शिथिल हुँदै गएपछि अन्ततः आर्थिक मन्दी हुने सम्भावना ८५ प्रतिशत रहेको छ ।

यसैगरी ताइवानमा आर्थिक मन्दी हुने सम्भावना २० प्रतिशत, अष्ट्रेलियामा २० प्रतिशत र न्युजिल्यान्डमा ३३ प्रतिशत रहेको छ । चीनमा आर्थिक मन्दी हुने सम्भावना २० प्रतिशत, जापानमा र दक्षिण कोरियामा २५ प्रतिशत रहेको छ ।

एसियाली अर्थतन्त्र समग्रमा युरोपेली राष्ट्रहरुको तुलनामा बलियो सावित भएको छ । पूर्वी युरोप युद्धग्रस्त बनेपछि युरोपमा इन्धन अभाव बढेको छ भने खाद्यान्नको मूल्य वृद्धि भएको छ । युरोपको ब्रेड बास्केट मानिने युक्रेनमा रुसले हमला गरेपछि युक्रेनबाट अन्नबालीको निर्यात हुन छाडेको छ ।

यसैगरी रुसलाई युक्रेनमा हमला गर्नबाट रोक्न पश्चिममा मुलुकले लगाएका प्रतिबन्धका कारण रुसबाट इन्धन तथा प्राकृतिक ग्यासको आपूर्ति बन्द भएपछि युरोपमा मूल्यवृद्धि चर्किएको छ । दोहोरो अङ्क नजिक पुगेको युरोपियन क्षेत्रको मूल्यवृद्धि दर नियन्त्रण गर्न युरोपियन केन्द्रीय बैंकले ११ वर्षमा पहिलो पटक औसत ब्याज दर बढाएको छ । जसकारण युरोपमा आर्थिक मन्दीको सम्भावना ५०–५५ प्रतिशत रहेको छ ।

यसैगरी अमेरिकामा आर्थिक मन्दी हुने सम्भावना ४० प्रतिशत रहेको छ । ४० वर्ष यताकै उच्च बिन्दुमा पुगेको मूल्यवृद्धि दर नियन्त्रण गर्न अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले आक्रामक रुपमा औसत ब्याजदर बढाउने प्रक्रिया अघि सारेको छ । जसकारण अमेरिकामा आर्थिक मन्दी हुने सम्भावना बढेको हो । केही महिना अघिको ब्लुमबर्गको अध्ययनले अमेरिकामा आर्थिक मन्दी हुने सम्भावना न्यून रहेको जनाएको थियो ।

जुलाईमा गरिएको अध्ययन अनुसार अमेरिकामा आर्थिक मन्दी हुने सम्भावना ४० प्रतिशत रहेको हो । मूल्यवृद्धि दर ९।३ प्रतिशत पुगेपछि फेडरल रिजर्भले थप आक्रामक कदम चाल्ने जनाएको थियो ।

विश्वव्यापी रुपमा आर्थिक मन्दीको सम्भावना बढ्दै जाँदा एशियाली क्षेत्रमा आर्थिक मन्दी हुने सम्भावना २०–२५ प्रतिशत रहेको अध्ययनले औंल्याएको छ । भारतको सन्दर्भमा रुससँगको सहकार्यमा अघि बढाएको आर्थिक गतिविधि र आन्तरिक उत्पादन सबल भएकाले पनि मन्दीको जोखिम न्यून रहेको अध्ययनले देखाएको हो ।