म्याग्दी – म्याग्दीको मङ्गला गाउँपालिका–२ सल्यानका दीपक खड्का बाँदरबाट मकै जोगाउन खेतमै टहरा हालेर बसेका छन् ।


ADVERTISEMENT


मकैको बोटमा धोगा लागेदेखि बाँदर धपाउन एक महिनाअघिदेखि खेतमा बस्न थालेका थिए । उनले बाँदर धपाउन खेतमा बस्नका लागि जस्ताले छाएर सानो टहरा बनाउनु भएको छ । “बाँदरको हुल पसे भने छिनभरमा खेतभरिको मकै सखाप पार्छन्”, उनले भने, “बिहान उज्यालो भएदेखि रात नपरुञ्जेलसम्म बाँदर धपाउन परिवारका सदस्य आलोपालो गरेर खेतमा बस्ने गरेका छाै‌ं ।”


ADVERTISEMENT

# # #


सल्यानका विश्वनाथ उपाध्ययले बाँदरले बाली नष्ट गरेर भित्र्याउनै नपाएपछि जङ्गल छेउको करिब पाँच रोपनी जग्गामा खेती गर्न छाडेको पाँच वर्ष भयो । “बाँदरले बाली भित्र्याउनै नदिएपछि मकै, कोदो लगाउन छोडेको हो”, उनले भने, “श्रम र लगानी खेर जाने भएपछि बारीमा घाँस र रुख रोपेको छु ।”

म्ङ्गलाको सल्यानका दीपक र विश्वनाथ बाँदर पीडित कृषकको प्रतिनिधि पात्र हुनुहुन्छ । बाँदरबाट बाली जोगाउन एकाबिहानै उज्यालो हुनेबित्तिकै खेतबारीमा पुग्ने कृषक साँझ नपरुञ्जेलसम्म बाली कुरेर बने गर्छन् । खेतीबाली लगाउने र हुर्काउनजस्तै बाँदरबाट जोगाउनु किसानका लागि अर्को चुनौती बनेको छ । बाँदर धपाउन कृषकको श्रम, पसिना र समय खर्च भएको छ ।

आँखा झिमिक्क गर्नासाथ बाँदरले सारा खेतीबाली नष्ट गरिदिन्छ । कृषक खाना र खाजा खाने समयसमेत पाउँदैनन् । बाँदर हेर्न बसेको ठाउँमै खाना–खाजा पुर्याइदिनुपर्ने बाध्यता रहेको जलजला–४ मल्लाजका कृषक चन्द्रबहादुर कार्कीले बताए । खेतबारीमा फल्दै गरेका बाली मात्र होइन बाँदरले मान्छे नभएको मौकामा घरभित्रै पसेरसमेत अन्नपात नास गरिदिने गरेको छ । बाँदरले खाद्यबालीसँगै तरकारी र फलफूल खानुका साथै बिरुवासमेत उखेलेर नष्ट गरिदिने गरेको जलजला–३ का द्रोण खत्रीले बताए । वनको विस्तारसँगै जङ्गल वरपरका खेतबारीमा खेती हुन छाडेका छन् । आहारा, पानीको खोजीमा बाँदरसहित अन्य वन्यजन्तु बस्तीमै आउन थालेका छन् ।

कानुनअनुसार बाँदरलाई लखेट्न, पक्रन, घाइते बनाउन, मार्न, बन्ध्याकरण गर्न, स्थानान्तरण गर्न र घरमा पशुको रुपमा पाल्न नपाउने व्यवस्था छ । बाँदरको समस्या न्यूनीकरण गर्न टिमुर सतुवा, चिराइतो, कुरिलो, ओखार, बेसार, कागती, केरा, फूल र घाँसखेती गर्न सकिने सहायक वन अधिकृत नरबहादुर क्षेत्रीले बताए ।

पानीका लागि बस्तीमा आउने बाँदरलगायत वन्यजन्तु र मानिसको द्वन्द्व न्यूनीकरण गर्न एक सामुदायिक वन एक पोखरी कार्यक्रम सञ्चालन गरिएको उहाँले बताए । नेपालमा आसामी रातो, रातो र सेतो रङको हनुमान लङ्गुर बाँदर पाइन्छ । आसामी रातो बाँदर संरक्षित स्तनधारी वन्यजन्तु हो । सेतो हनुमान लङ्गुर बाँदर एक–दुई वटाको सङ्ख्यामा मात्र भेटिन्छ । आसामी र रातो बाँदर भने समूहमा बस्छन् ।

यी बाँदरको हुल पसेपछि क्षणभरमै खेतीबाली खाने तथा नष्ट पारिदिने गर्छन् । धान र गहुँको समयमा खासै दुःख नदिने बाँदरले मकै पाक्ने याममा बढी समस्यामा पारेको छ । बाँदरकै समस्याका कारण कतिपय कृषकले बाली लगाउनै छाडेर खेतबारी बाँझो राख्न थालेका छन् । वर्षभरिलाई पुग्ने खाद्यान्न एकैछिनमा सखाप पार्ने भएपछि किसान अरु कामधन्दा छाडेर बाँदर धपाउन मै व्यस्त हुने गरेको बेनपा–४ वास्कुनाका कृषक भीम थापाले बताए । जलजलाको मल्लाजका किसान बाँदर धपाउन खेतबारीको डिलमा छाप्रो नै बनाएर बस्ने गरेका छन् ।

केही स्थानीय तहले बाँदर स्थानान्तरण, धपाउने औजारको विकास र घाँस खेती गरे पनि सबै ठाउँमा यस्तो प्रयास हुन सकेको छैन । बाँदर आतङ्क नेपालका धेरै ठाउँका कृषकको साझा समस्या हो । त्यसैले सरकारले दीर्घकालीन योजना र उपायको खोजी गरेर बाँदरको समस्या समाधान गर्नु आवश्यक भएको छ । रासस