काठमाण्डौं-राष्ट्रिय जनमोर्चा (राजमो)नेपालबाट काठमाडौं क्षेत्र नं १ का उम्मेदवार निर्मलकुमार थापाले सो क्षेत्रका वाम गठबन्धनका उम्मेदवार अनिलकुमार शर्मालाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । राजधानीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उम्मेदवार थापाले वाम आन्दोलनलाई अगाडि बढाउन र वाम गठबन्धनको नेतृत्वमा स्थायी सरकार बनाउन भूमिका खेल्नुपर्ने आवश्यकता महसुस गरी आफूले उम्मेदवारी फिर्ता लिएको घोषणा गरे ।


ADVERTISEMENT


आफ्ना प्रस्तावक, समर्थक तथा सो क्षेत्रका सबै मतदातालाई नेकपा(माओवादी केन्द्र)का उम्मेदवार शर्मालाई नै मतदान गर्न उनले आग्रह गरे । आफ्नो उम्मेदवारी फिर्ताबारे पार्टीको नेतृत्वलाई जानकारी गराएको तर पार्टी निर्णय भने हुन बाँकी रहेको उनले जानकारी दिए । यस्तै, काठमाडौं क्षेत्र नं १ का प्राध्यापक, बुद्धिजीवीको भेलाले वाम उम्मेदवार शर्मालाई मतदान गर्ने निर्णय गरेको जानकारी प्रा राममान श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिए ।


ADVERTISEMENT

# # #


अस्थिर सरकारबाट भोग्नुपरेका समस्याको अन्त्यका लागि वाम गठबन्धनका प्रतिनिधिलाई विजयी गराई राष्ट्रको विकास र समृद्धिमा सहयोग पुग्ने विश्वाससहित सो क्षेत्रका १०५ जना प्राध्यापकको भेलाले शर्मालाई गर्ने निर्णय गरेको उनले बताए ।पत्रकार सम्मेलनमा सो क्षेत्रबाट वाम गठबन्धनका उम्मेदवार शर्माले जनमोर्चाका उम्मेदवार थापाको समर्थन र बुद्धिजीवीको समर्थनले आफूलाई थप हौसला बढेको भन्दै आफ्नो जित निश्चित रहेको बताए ।

देश विकासका लागि युवालाई नेतृत्वमा ल्याउनुको विकल्प नरहेको भन्दै स्थिरता, विकास र समृद्धिका लागि आफूलाई मतदान गर्न उनले आग्रह गरे । काठमाडौं क्षेत्र नं १ लाई धुवाँधुलोमुक्त, विषदीमुक्त बनाउन, नियमित खानेपानी, शैक्षिक केन्द्रका रूपमा विकास, सफा बाग्मती र धोबीखोला, वृद्धवृद्धालाई घरमै स्वास्थ्य सेवा तथा सामाजिक सुरक्षाभत्ताजस्ता विषय आफ्नो एजेण्डा रहेको उनले जानकारी दिए ।