काठमाडौं – धरान उपमहानगरपालिकाका मेयरमा निर्वाचित भएका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको अभिव्यक्तिलाई जस्ताको तस्तै साभार गरिएको छ ।


ADVERTISEMENT


मेरो यो आवाज सुन्ने कसैले पनि मलाई यहाँ आएर भन्नुस्, के हो पार्टी भनेको ? पार्टीको परिभाषा सोध्छु, पार्टीको सिद्धान्त सोध्छु। त्यो सिद्धान्त अन्तर्गत तपाईको समाजको रूपान्तरणको प्रक्रिया र विधि के हो, त्यो सोध्छु, आउँछ तपाईंहरूलाई ?


ADVERTISEMENT

# # #


हातमा त्यत्तिकै झण्डा बोकेर कुद्दिने ? झण्डामात्र बोकेर हिँड्ने मान्छे, झण्डा २५ वर्षसम्म बोकेको छ तर त्यसको अर्थ अझै थाहा छैन। त्यस्तो व्यक्तिलाई भनिन्छ ठुटे नेता।

ठुटे नेताको पछाडि धराने जनता लाग्नु हुँदैन। ठुटे नेताको पछाडि आज धराने नेता लागेकै कारणले आज खानेपानीसम्म छैन। तपाईंहरूले राम्रो घर र बाटोमात्र देख्नु हुन्छ, यो सबै हामीले विदेशमा पसिना र रगत बगाएको कमाइ हो। हामीलाई भात खानको लागि विदेशीको ट्वाइलेट सफा गर्न जानुपर्ने कारण कसको कारणले गर्दा भयो ?

के भएर भयो भन्दा यो देशको राजनीति ठीक भएन ? यो देशको राजनीति के भएर ठीक भएनभन्दा हामीले भोट हाल्न जानेनौँ नि त। चुनाव आउँछ, पार्टीको चुनाव चिन्हलाई भोट हाल्यो अनि आयो।

निर्जीव चुनाव चिन्ह भनेको नक्सा मात्र हो। नक्साले काम गर्ने हो र ? म बारम्बार भन्ने गर्छु, नक्साले काम गर्ने हो भने यो चौबाटोमा ठूलो सूर्य बनाउनु। अनि एक महिना पर्खेर बस्नु। त्यसले काम गर्छ कि गर्दैन हेर्नु।

त्यसको पल्लोपट्टि ठूलो रुख बनाउनु, अनि त्यसले काम गर्छ कि गर्दैन ६ महिनापछि हेर्नु, तर काम गर्दैन। काम गर्ने भनेको व्यक्तिले हो, असल व्यक्ति तपाईंहरूले चुन्नुपर्छ जुन व्यक्तिले तपाईहरुको भावना बुझेको होस्, तपाईंको चाहना बुझेको होस्, तपाईंको आवश्यकता बुझेको होस्।

केही नबुझेको केही न कामको मान्छे, चुनावको बेलामा मात्र आउने मान्छे, कोठे राजनीति गरेर बस्ने, ताली बजाउँदै बस्ने, सिग्नेचर गर्दै कोठामा बैठकमात्र गरेर बस्ने मान्छेहरू यसपालि चुनावमा आको हैन।

हर्क साम्पाङले धरानमा खानेपानीको लागि लडेको कति वर्ष भयो थाहा छ ? स्वास्थ्य, शिक्षा, बिजुलीबत्ती, बजार व्यवस्थापन, महङ्गी नियन्त्रणका लागि आवाज उठाको कति वर्ष भयो, त्यसो भएको कारणले यी सम्पूर्ण कुरालाई काम गरेको मेहेनत गरेको देखेर, निरन्तरतालाई देखेर पनि तपाईंहरूले हर्क साम्पाङलाई चिन्नुपर्छ भन्ने पनि मलाई लाग्छ।