काठमाण्डौं-सरकारले आगामी बिहिबार दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लाको सुरक्षा रणनीति परिवर्तन गर्ने भएको छ ।


ADVERTISEMENT


विध्वंसात्मक तथा निर्वाचन विरोधी गतिविधि बढेपछि निर्वाचन आयोगको आग्रहमा गृहमन्त्रालयले निर्वाचन सुरक्षा रणनीति परिवर्तन गर्न लागेको हो ।


ADVERTISEMENT

# # #


निर्वाचनको मिति नजिकिएसंगै उम्मेदवार तथा मतदाता र मतदान केन्द्रको सुरक्षा खतरा बढेको निष्कर्षसहित ४५ सै जिल्लामा उच्चस्तरको सुरक्षा व्यवस्था प्रबन्ध मिलाउने तयारी भइरहेको गृह प्रवक्ता नारायणप्रसाद शर्माले जानकारी दिए ।

नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, म्यादी प्रहरी तथा राष्ट्रिय अनुसन्धान बिभागका गरी ३ लाख हाराहारीमा सुरक्षाकर्मी परिचालन गरेपनि आंतकित पार्ने गतिबिधि बढेपछि सबै निकायबीचको समन्वयमा सुरक्षा रणनीतिचुस्त र दुरुस्त पार्न लागिएको हो ।

यसका लागि संयुक्त गस्तीसँगै सादा पोसाकका सुरक्षा तैनाथी बढाइने शर्माले जानकारी दिए । विभिन्न स्थानमा भएका विष्फोटको घटना, निर्वाचनमा भय पैदा गर्ने उद्देश्यले भएको भन्दै उनले यस्ता गतिबिधि नियन्त्रण गर्न सुरक्षा निकाय सक्षम रहेको उल्लेख गरे ।

हिट एण्ड रन अर्थात बम फालेर भाग्ने प्रवृत्ति पछिल्ला घटनाले पुष्टि गरेको भन्दै प्रवक्ता शर्माले यस्ता व्यक्ति र समुहको पहिचान भइसकेको दाबी गरे । पछिल्लो समय घरायसी सामाग्री प्रयोग गरी बम बनाउने क्रम बढेकाले त्यस्ता सामाग्रीको प्रयोग र ओसारपसारमा समेत कडा निगरानी गरिएको मन्त्रालयको भनाई छ ।