काठमाडौं– सरकारले पृथ्वीजयन्तीमा पुनः बिदा दिने निर्णय गरेको छ । जनआन्दोलन २०६२–६३ सालपछि बनेको गिरीजाप्रसाद कोइराला नेतृत्वको सरकारले पृथ्वीजयन्तीमा दिँदै आएको बिदा कटौती गर्ने निर्णय गरेको थियो ।


ADVERTISEMENT


बिदा कटौती भएसँगै संवैधानिक राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा वकालत गर्दै आएको राप्रपाले निरन्तर पृथ्वीजयन्तीको दिन बिदा दिइनुपर्ने माग गर्दै आएको थियो । यसैक्रममा बिहिबार बसेको मन्त्रिपरिषद् बैठकमा उपप्रधान तथा ऊर्जामन्त्री कमल थापाको ठाडो प्रस्तावमा बिदा दिने निर्णय भएको एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए ।


ADVERTISEMENT

# # #


ती मन्त्रीका अनुसार गृहमन्त्रालयले आगामी क्रिसमसमा सार्वजनिक बिदा दिने प्रस्ताव लगेको थियो । सो प्रस्ताबारे जानकारी पाएसँगै कमल थापाले पृथ्वीजयन्तीमा पनि बिदा दिने निर्णय गरौं भनि प्रधानमन्त्रीसँग प्रस्ताव गरेका थिए ।

सुरुमा प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले क्रिसमसको अवसरमा मात्रै बिदा दिने निर्णय गर्ने र अर्को बस्ने बैठकमा पृथ्वीजयन्तीमा पनि बिदा दिने निर्णय गर्ने धारणा राखेका थिए । तर, कमल थापाले पछि भन्दा पनि अहिले नै दुबै बिदा एकैसाथ गर्न जोडबल गरेपछि प्रधानमन्त्री पनि सकारात्मक बन्दै बिदा दिने निर्णय भएको ती मन्त्रीको भनाई छ ।

मन्त्रिपरिषदबाटै पृथ्वीजयन्तीका दिन बिदा दिने निर्णय भएपछि आफूहरुले विगतमा बिदाको लागि उठाएको आवाजले सार्थकता पाएका राप्रपाले जनाएको छ । राप्रपाका प्रभावशाली नेता तथा सहरी विकासमन्त्री दिलनाथ गिरीले लामो समयदेखि बिदाको लागि पार्टीले उठाउँदै आएको आवाजले सार्थकता पाएको भन्दै यसमा प्रधानमन्त्रीको लचकताको प्रशंशा गरे । पृथ्वीजयन्ती हरेक वर्ष पुस २७ गते मनाइने गरिएको छ ।