भीमदत्तनगर – कञ्चनपुरमा नेपाली काँग्रेसका प्रभावशाली उम्मेदवार र गणितीय आधारमा बलियो देखिएको वाम गठबन्धनका उम्मेदवारहरु आसन्न प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा प्रतिष्ठाको लडाइँ लडिरहेका छन् ।


ADVERTISEMENT


कञ्चनपुरका निर्वाचन क्षेत्रहरूमा राष्ट्रिय राजनीतिमै प्रभाव राख्ने काँग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्रीद्वय नारायणप्रकाश साउद र रमेश लेखक वाम गठबन्धनका लागि चुनौतीको रुपमा देखिएका छन् ।


ADVERTISEMENT

# # #


कञ्चनपुर निर्वाचन क्षेत्र नंं २ बाट प्रतिनिधिसभाका उम्मेदवार नेता साउद २०७० को निर्वाचनमा काँग्रेस नेता बहादुरसिंह थापासँग पराजित एमाले नेता नरबहादुर धामीसँग चुनावी प्रतिष्पर्धामा छन्।

अघिल्लो निर्वाचनमा एमालेका जिल्ला अध्यक्ष तारालामा तामाङलाई पराजित गरेर सांसद भई सिँचाइमन्त्री समेत बनेका नेता साउदसामु आसन्न निर्वाचनमा बलियो वाम गठबन्धन हराएर प्रतिष्ठा जोगाउनुपर्ने चुनौती छ ।

पुरानो विजय यात्रालाई निरन्तरता दिन पूर्वमन्त्री साउद चुनावी प्रचारमा खटिएका छन् भने वाम गठबन्धनका उम्मेदवार एमाले नेता धामी पनि स्थानीय तहको मतपरिणामको दृष्टिले विजयी हुने दाबीसहित काँग्रेसको विरासत ढाल्ने दाउमा छन् ।

छब्बीस प्रतिशत थारु समुदाय रहेको निर्वाचन क्षेत्र नंं २ मा उम्मेदवारी छनोटमा काँग्रेसले देखाएको उदारताका कारण सो समुदायको मत काँग्रेसको पक्षमा आउने त्यस पार्टीका कार्यकर्ताको आकलन छ ।

तर, वाम गठबन्धनबाट कञ्चनपुर क्षेत्र नंं १ प्रदेश (ख)मा उम्मेदवार रहेका एमाले नेता कुलवीर चौधरीले वाम गठबन्धनले सबै जातजाति, वर्ग, समुदायलाई समेटेर उम्मेदवारी दिएकाले रानाथारु समुदायलाई समेट्ने काम भएन भन्नु विपक्षीको चुनावी नारा मात्र भएको बताउँछन्।

काँग्रेसले थारु समुदायको मत लिनकै लागि प्रदेशसभामा श्यामलाल राना र गीता चौधरीलाई समानुपातिक उम्मेदवार बनाएर थारु वस्तीमा चुनावी गतिविधि अगाडि बढाइरहेको छ ।

क्षेत्रीय राजनीतिमासमेत प्रभाव राख्ने कञ्चनपुरमा नेता साउद र उहाँका प्रतिद्वन्द्वी धामीबीच भइरहेको चुनावी प्रतिष्पर्धालाई त्यहाँका मतदाताहरूले अभिरुचिपूर्वक नियालिरहेका छन् ।

नेता साउद डडेल्धुराबाट कञ्चनपुर बसाइँ सरेका हुन् भने नेता धामी बैतडीबाट कञ्चनपुर आएका हुन् ।

वाम गठबन्धनभित्र निर्वाचन क्षेत्र नं २ मा माओवादी केन्द्रका अग्रज नेताहरूबाट टिकट वितरणप्रति दर्शाइएको असन्तुष्टिले साउदलाई लाभ पुग्नेमा काँग्रेस नेताहरू आशावादी देखिएका छन् ।

मन्त्री हुँदा निर्वाचन क्षेत्र नंं २ मा गरेको विकास निर्माणका कामले पनि नेता साउदलाई केही सजिलो हुने बताइन्छ ।

स्थानीय तह निर्वाचनको मत परिणामका आधारमा आफ्नो सहज जीत हुने ठान्ने वाम गठबन्धनका उम्मेदवार सडक, खानेपानी, सिँचाइलगायत पूर्वाधार विकासका एजेण्डासहित मतदाताको घरदैलोमा पुगिरहेका छन् ।

महाकालीपारि दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माणदेखि महाकालीमा नहर बनाउने प्रमुख एजेण्डासहित आफ्नो दल चुनावी मैदान रहेको र यसपटक कञ्चनपुरमा काँग्रेसको विरासत तोडिने उनी दाबी गर्छन् ।

विद्यार्थी राजनीतिमा अनेरास्ववियुको पूर्व केन्द्रीय कोषाध्यक्ष रहिसकेका नेता धामी यसपटक भने मतदाताले न्याय दिनेमा ढुक्क देखिन्छन् ।

त्यसैगरी, कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा काँग्रेस नेता रमेश लेखक प्रतिनिधिसभाको उम्मेदवार रहेका छन् । अघिल्लो पटक चारवटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा चारवटैमा प्रत्यक्षतर्फ काँग्रेस उम्मेदवारहरूले बाजी मारेका थिए जसमा तत्कालीन निर्वाचन क्षेत्र न. ४ मा नेता लेखक अन्य उम्मेदवारभन्दा फराकिलो मतअन्तरले विजयी भएका थिए ।

महाकाली नदी पारिको दोधारा चाँदनी नेता लेखकका लागि यसपटक सहज भएका बताइन्छ र उनले पनि दोधारा चादँनीको चुनावी घरदैलोलाई गति दिइरहेका छन् ।

अघिल्लो पटक नेता लेखकसँग पराजित भएका अन्य पार्टीका उम्मेदवारहरू पनि दोधारा चाँदनीलाई केन्द्रित गरेर घरदैलोलाई तीव्रता दिइरहेका छन् ।

नेता लेखकसँग वाम गठबन्धनबाट प्रतिनिधिसभाको उम्मेदवार रहेका एमाले नेता डा दीपकप्रकाश भट्टले काँग्रेसले लामो समयदेखि यहाँको निर्वाचन क्षेत्रबाट जित्दै आएको भएपनि विकासको केही पनि योजना नल्याएको आरोप लगाए ।

दोधारा चाँदनीमै चुनावी घरदैलोलाई तीव्रता दिइरहका नेता भट्टले आफूले निर्वाचन जिते महाकाली नगरपालिकामा सिँचाइको व्यवस्थाका साथै सुख्खा बन्दरगाह निर्माण गरेर रोजगारीको वातावरण बनाउने बताए ।

“महाकाली सन्धिमा उल्लेख भएको सिँचाइको नहर अहिलेसम्म बनेन,” उनले भने – “यहाँ विकासका नाममा गफ मात्रै बढी भए, काम भएन ।”

तर कांग्रेस नेता लेखक भने आफ्नै पहलमा महाकाली नदीमा झोलुङ्गे पुलका साथै नयाँ चार लेनको पुल निर्माणाधीन अवस्थामा रहेको दाबी गर्छन् । सडकदेखि यहाँको पूर्वाधार विकासमा गरेको पहलकै कारण आफूलाई निर्वाचन जित्न सहज भएको लेखकको भनाइ छ ।

महाकाली नदीमा चार लेनको पुल बनेसँगै निर्माणको प्रक्रियामा रहेको दोधारा चाँदनीको सुख्खा बन्दरगाह र महाकाली करिडोर निर्माण गरी कञ्चनपुरलाई नेपाल, भारत र चीनको त्रिदेशीय नाकाका रुपमा विकास गर्ने एजेण्डालाई उनले मतदातासामु राखिरहेका छन् ।

“आगामी चार-पाँच वर्षभित्र कञ्चनपुरलाई त्रिदेशीय नाकाका रुपमा विकास गर्न सकिन्छ,” नेता लेखकले भने – “अघिल्लो पटक जनताले दिएको जिम्मेवारी हामीले पूरा गरिसकेका छौं ।”

भीमदत्तनगरपालिकाका १९ वटा र वेदकोट नगरपालिकाको वडा नं ८ का साथै महाकाली नगरपालिका समेटिएको निर्वाचन क्षेत्र नं ३ मा विगतका निर्वाचनहरूमा दोधारा चाँदनी निर्णायक भूमिकामा देखिएकाले पनि आसन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा यो ठाउँलाई महत्व दिइएको हो ।

त्यसैगरी, कञ्चनपुर निर्वाचन क्षेत्र नं १ मा पनि वाम र लोकतान्त्रिक गठबन्धनबीच रोचक भिडन्त हुने संकेत देखिएको छ ।

अघिल्लो निर्वाचनमा काँग्रेसका उम्मेदवार दिवानसिंह विष्ट विजयी भएको उक्त क्षेत्रमा विष्ट र वाम गठबन्धनबाट माओवादी नेत्री बीना मगर चुनावी मैदानमा छन् ।

मतदाताको घरदैलोमा मत माग्ने क्रममा नेता विष्टले आफ्नो राजनीतिक संघर्षकै कारण यहाँसम्म आइपुगेको र त्यसलाई नाता जोडेर हेर्न नमिल्ने बताए । “मैले गरेको विकास मतदाताहरूलाई अवगत नै छ,” नेता विष्टले भने– “वाम गठबन्धन बने पनि काँग्रेसको पक्षमा माहोल बनेकै छ ।”

धुलाम्ये र हिलाम्ये सडक कालोपत्र गर्नेदेखि नेपाल–भारत सीमाक्षेत्रको सुरक्षामा समेत ध्यान दिने वाचासहित घरदैलो गरिरहेका उम्मेदवार मगरले पति वियोगको पीडालाई सहन गर्दै प्रचार अभियानलाई कसिलो बनाउँदै लगिरहेका छन् ।

“बाँकी जीवन यहाँकै जनताको सेवामै खर्च गर्नेछु,” उनले भने।

उक्त निर्वाचन क्षेत्रका चार वटै स्थानीय तहमा काँग्रेसले पराजय बेहोरो पनि अहिले सुधारिसकेको कञ्चनपुर काँग्रेसका सभापति हरिप्रसाद बोहराले बताए।

वाम गठबन्धनपछि फेरिएको राजनीतिक परिवेशमा यहाँ दुबै गठबन्धनका उम्मेदवारले आ–आफ्नो जीतलाई प्रतिष्ठाको विषय बनाएका छन् ।