-नेपाली कांग्रेस ललितपुरका जिल्ला सभापति तथा ललितपुर क्षेत्र नं -३ का उम्मेदवार मदन अमात्यसंग गरिएको कुराकानी :


ADVERTISEMENT


निर्वाचन मुखैमा आइसक्यो, घरदैलो कार्यक्रम कसरी गरिरहनु भएको छ ?
अब घरदैलो कार्यक्रम करिबकरिब सकिन लागेको छ । राम्रै गरिरहेका छौँ ।


ADVERTISEMENT

# # #


घरदैलो कार्यक्रम लगभग सकिसक्यौँ भन्नुभयो ।  चुनावी प्रचारका क्रममा जनताको दैलामा जाँदैगर्दा के भन्छन् त मतदाता ? उनीहरुको अपेक्षा, माग तथा प्रतिक्रिया कस्तो पाउनु भयो ?

धेरै ठाउँमा पानीको समस्या छ । पानी दिए पुग्छ भनिरहेका छन् । त्यस्तै बाटो, ढलको समस्या पनि छ । अन्य विकासका पूर्वाधारको निर्माण त छँदैछ । अरु प्रतिक्रिया त रामै पाइएको छ । सबैले हौसला दिइरहनु भएको छ ।

तपाई त पहिले देखि यहीका जनताको लागि काम गरिराख्नु भएको छ । निर्वाचनको मुखमा जनताको घरदैलोमा उनीहरुका माग आवश्यकताहरुको बारेमा बुझ्न जाँदा कस्तो हुँदो रहेछ ?

कहिलेकाहीँ त आफैलाई पनि कस्तो कस्तो लाग्छ । किनभने साधारण कामहरु पनि भएका छैनन् । हिजो म घरदैलोमा जाँदा महानगरपालिकामा बसोवास गर्ने मानिसहरु डोको बोकेर पानी लिन गइरहेको देखेँ । महानगर भइसकेको ठाउँका एउटा महिला डोको बोकेर पानी लिन गइरहेको देख्दा मनमा बडा असजिलो महशुस भयो । हामीले स-साना कुरा पनि गर्न सकेका रहेनछौँ भनेर मन अमिलो भयो । तर ७० सालमा मैँले चुनाव जितिसकेपछि प्रमुख प्राथमिकता पानीलाई नै बनाएको थिएँ । केही ठाउँमा त भए तर सबै ठाउँमा पानीको आपूर्ति गर्न सकिएन । तर मैँले मेहेनत गरेँ भने ललितपुरलाई मनग्य पानी खुवाउन सक्छु भन्ने मेरो जुन किसिमको प्रोजेक्ट छ त्यसलाई मैँले अबको साँढे तीन वर्षमा पूरा गर्छु जस्तो लाग्छ । अन्य आवश्यकताहरु पनि छन् । तिनिहरुको पनि विस्तारै सम्बोधन हुँदै जान्छ ।

यो निर्वाचनलाई कत्तिको प्रतिस्पर्धात्मक रुपमा लिनु भएको छ ? किनकी अहिले एमाले र माओवादीको संयुक्त उम्मेदवार भएर पम्फा भुसाल आएकी छन् । चुनौति त अलि थपिएको होला नि ?

होइन, त्यस्तो प्रतिस्पर्धाको रुपमा त मैले केही पाएको छैन । किनभने पहिलो कुरा मेरो प्रतिस्पर्धी यहाँको मान्छे नै  होइन । दोस्रो कुरा ललितपुर उहाँले चिनेकै छैन, बुझेकै छैन । त्यो भएर उहाँलाई कसरी प्रतिस्पर्धी भन्ने ? उहाँमा ललितपुरप्रतिको माया पनि देखेको छैन । हिजो १० वर्षे जनयुद्ध गरेर मान्छे मारेर आउनु भएको हो । जनताको सेवा गरेर आएको राजनीति पनि होइन । दोस्रो संविधानसभालाई बहिष्कार गरेर हिँडेको मानिस उहाँ हो । म जुन दिनदेखि राजनीतिमा लागेँ त्यतिबेला देखि नै जनताको सेवामा लागेको छु । म जहाँ जहाँ बसेँ, त्यहा एउटा न एउटा सामाजिक काम गरेर आएको मानिस हुँ । कहिल्यै पनि प्रजातन्त्रबाट विचलित नभएर जनतामा विश्वास गर्ने मानिस हुँ । त्यस कारण मेरो प्रतिस्पर्धी तपाईँले भनेजस्तो कडा छ जस्तो लाग्दैन । तर, ललितपुरलाई केही गर्नु पर्छ भनेर एउटा जिम्मेवारी बोकेर हिँडिरहेको मानिस हुँ । यसको लागि पनि ललितपुरवासी जनताले मलाई मत दिन्छन् जस्तो लाग्छ ।

यो क्षेत्रमा तपाईले पहिले पनि काम गरिसकेकाले एक किसिमले परिचित नै हुनुहुन्छ होला । तपाईले यो क्षेत्रको प्रतिनिधित्व गरेर संसदमा गइसकेपछि यहाँका जनताको विकासका लागि तपाईसंग भएको योजनाहरु के छन् ? बताइदिनुस् न ।

वास्तवमा यो कुरा गर्नै पर्छ । मभन्दा पहिला यहाँका थुप्रै नेताहरु मन्त्री भए । त्यो आफ्नो ठाउँमा छ । तर मलाई उनीहरुले आफ्नो लागि मात्र राजनीति गरेको जस्तो लाग्छ । जनताको लागि राजनीति गरेको मैँले देखिँन । किनभने ललितपुर धेरै पछाडी परिरहेको छ । उपत्यका भित्र भएर पनि राजधानीबाट ललितपुर हेपिएको जस्तो दखिन्छ । जे कुराहरु पनि ललितपुरलाई अलग राखेर गर्ने सरकार तथा नेताको प्रवृत्ति देख्दा दुःख लागछ । त्यही भएर नै म ललितपुरको लागि काम गर्छु भनेर आएको हुँ । नेपालको एउटा राम्रो महानगरपालिका, नेपालको एउटा राम्रो जिल्ला बनाउने उद्देश्यले नै म आएको हुँ । मेरो क्षेत्र मात्र होइन, ललितपुर जिल्लाकै विकास र समृद्धिका लागि म काम गर्छु ।

मदन अमात्य यो क्षेत्रको प्रतिनिधि भइसकेकपछि ललितपुरको परिचय कुन रुपमा हुन्छ ?

मेरो एउटा सपना छ । एउटा भिजन छ कि ललितपुरलाई सुन्दर, सफा र सुरक्षित शहरको रुपमा परिणत गर्ने । अहिले पनि पूराना सम्पदा नै सम्पदा भएको यो ठाउँ पर्यटकीय सम्भावनाको दृष्टिकोणले एकदम माथि नै छ । तर हामीले त्यसलाई प्रयाप्त मात्रामा सदुपयोग गर्न सकिरहेका छैनौँ ।

अहिले पर्यटकहरु आउँछन् मंगलबजार हेर्छन् फर्किन्छन् । तर मंगलबजार मात्रै ललितपुरको सम्पति होइन । मंगलबजार मात्रै पर्यटकीय क्षेत्र होइन । हामीसंग हरिसिद्धि छ, खोकना छ, बुङ्मती छ । हरेक गाउँको आआफ्नो विशेषता छन् । त्यसैले यी सबैको विशेषताहरुलाई झल्काउने गरी काम गर्न चाहान्छु ।

पर्यटक बढाएमा यहाँको आम्दानी पनि बढ्छ । त्यस कारण एकदम सफा, व्यवस्थित, सुरक्षित र प्रमुख पर्यटकीय क्षेत्रका रुपमा ललितपुरलाई हामीले पाउँछौँ र त्यही अनुसार म काम गर्छु ।

अब मत परिणामको आँकलन अनुमान पनि भइरहेको होला । कस्तो छ अवस्था ?

मलाई पम्फाजीको भन्दा दोब्बर मतले म जित्छु जस्तो लाग्छ । पहिले पनि राम्रै मत पाएको हो । अरुले जस्तो काम नै नगरी बसेको छैन । चाहेको जति, क्षमताले भ्याएको जति कामहरु गरेको छु । हिजो काम गर्ने वातावरण सहज थिएन । अहिले जनताले आफ्नो स्थानीय प्रतिनिधि पाएका छन् । त्यसमा पनि महानगरमा पनि नेपाली कांग्रेसले जितेको छ । त्यो भएर काम गर्ने वातावरण सहज हुन्छ । अहिलेलाई मेरो प्रमुख केन्द्रबिन्दु भनेको महानगरपालिका हो ।

यहाँका मेयर, उपमेयरलाई हरेक दिन भन्ने गरेको छु कि तपाईहरु महानगरको विकासका लागि एकदम केन्द्रित भएर लाग्नुस् भनेर । उहाँहरु पनि एकदमै राम्रोसंग लागिरहनु भएको छ । अबको ५/६ महिना मै केही परिणामहरु आउने हामीले देखिसकेका छौँ ।

हामी छिटोभन्दा छिटो नतिजा देखाउन चाहन्छौँ, परिवर्तन देखाउन चाहन्छौँ । त्यही अनुसार जनताले पनि साथ दिएका छन् । त्यस कारण मेरो प्रतिस्पर्धीलाई दोब्बर मतान्तरले हराउँछु ।

अन्त्यमा, मतदाताहरुका लागि के भन्न चाहनुहुन्छ ?

मतदाताहरुले मलाई हिजो जुन किसिमले विश्वास गर्नुभयो आज पनि त्यस्तै विश्वास गरिदिनुस् भन्न चाहान्छु । म तपाईहरुलाई ठग्ने, बेइमान गर्ने मानिस होइन । आफ्नो आफ्नो जीवन देशको विकासका लागि, ललितपुरको विकासका लागि समर्पित गरेको छु । ललितपुरको स्वार्थ नै मेरो स्वार्थ हुन्छ । म ललितपुलाई विकशित र परिवर्तन गरेर नै मर्न चाहान्छु । ललितपुरसंग मेरो पुस्तौँ पुस्तादेखि आत्मीय सम्बन्ध छ । मेरो ललितपुर सुन्दर, सफा र व्यवस्थित होस् भन्ने म चाहन्छु । यसका लागि तपाईँहरुले मलाई सहयोग गरिदिनुस् भन्न चाहन्छु ।