काठमाडौं – स्थानीय तहको निर्वाचनमा एमालेबाट गढी गाउँपालिकाको प्रमुखमा उम्मेदवारी दिएका आश नारायण चौधरी १५ वर्षसम्म शिक्षण पेशामा रही करिब १० वर्षसम्म मुलुककै राम्रो वित्तीय संस्थाको रुपमा परिचित फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थामा प्रमुख कार्यकारी अधिकृत (सिइओ) भएर कार्यानुभव बटुलेका नेता हुन् ।

आफ्नो गाउँको विकास गर्न शासक हैन सेवक भएर काम गर्ने उद्देश्यका साथ मासिक २ लाख भन्दा बढीको तलब सेवा सुविधा छाडेर फरवार्ड माइक्रोफाइनान्सबाट राजिनामा दिएर राजनीतिमा होमिएका उनले गढी गाउँपालिकालाई आगामी ५ वर्ष भित्र मुलुककै नमूना गाउँपालिका बनाउने सपना देखेका छन् । यसै सन्दर्भमा गढी गाउँपालिकाको प्रमुखमा चौधरीलाई किन जिताउने रु गढीको समस्याहरू केके हुन् ? समाधानका उपाय के होलान् भन्ने विषयमा हामीले कुराकानी गरेका छौं ।


ADVERTISEMENT


ADVERTISEMENT

# # #



बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनको दिन नजिकिएसँगै चुनावी तयारी कस्तो चल्दैछ ?

यसपल्टको स्थानीय तहमा गढी गाउँपालिकाले नेतृत्व परिवर्तनको चाहना व्यक्त गरेका छन् । मैले जनताहरूका जोडबलमा उम्मेदवारी दिएको हुँ । म र मेरो टीम गढीका जतिपनि वडाहरूमा, जनताका घरदैलोमा पुग्यो ती सबै स्थानहरूमा हाम्रो टीम प्रति उत्साह, भरोसा र विश्वास रहेको पाएको छु । हामीले ऐतिहासिक जित हासिल गर्छौ भन्ने विश्वास बढेको छ ।

गढी गाउँपालिकाका साझा समस्याहरू केके देख्नु भएको छ ?

सुनसरीको क्षेत्र नं ३ विकासका दृष्टिकोणले अन्य क्षेत्रभन्दा पछि परेको क्षेत्र हो । त्यसबाट गढी गाउँपालिका पनि अछुतो छैन । गढी गाउँपालिका भित्रका समस्याहरू केलाउँदा यहाँ सबैभन्दा विकराल समस्या भनेको अव्यवस्थित बसोबास र सुकुम्बासी समस्या हो ।

यहाँ गुणस्तरीय शिक्षाको खाँचो छ । माध्यामिक स्तरका स्कुलहरू भएपनि तिनीहरूले गुणस्तरीय शिक्षा दिन सकिरहेका छैनन् । स्वास्थ्य सेवा त दयनीय अवस्थामै छ । एकाध वडाहरूमा स्वास्थ्य चौकी भएपनि सामान्य औषधी पाइँदैन । गाउँपालिकामा अस्पताल नहुँदा सामान्य बिरामी हुँदापनि धरान, विराटनगर पुग्नुपर्ने बाध्यता छ । सडकको कुरा गर्दा ६ वटा वडाहरूमा कालोपत्रे गरिएका सडक नगन्य छन् । ढल निकास छैन । लिंक रोडको अभाव छ । स्वच्छ खानेपानीको समस्या पनि उत्तिकै विकराल छ । कृषि क्षेत्रको समस्या, सिंचाईको समस्या, बेरोजगारी समस्या पनि छ । साथमा, वर्षेनी वर्षायाममा हुने डुवान अर्को समस्या हो ।

गढी गाउँपालिकाको समस्याहरू त देख्नुभयो, समाधान गर्ने योजना केके छन् ?

गढीको विकास गर्न कुनै एउटा क्षेत्रको मात्र विकास गरेर संभव छैन । मुख्यरुपमा यहाँको समस्या के हो ? केलाएपछि मात्र समाधानका बाटोहरु खोज्न सकिन्छ । पछिल्लो समय गाउँपालिकामा जनसंख्या बढ्दो छ । त्योसँगै यहाँ अव्यवस्थित बसोबास बढेकाले तत्कालै त्यसलाई समाधान गर्ने मेरो योजना छ । भूमिहिनका समस्या हल गर्नपनि हामी योजना बनाउँछौं ।

शिक्षा क्षेत्रको सुधारकालागि सामुदायिक विद्यालयहरुको स्तरोन्नती, दरवन्दी बृद्धि, प्रयोगात्मक शिक्षण पद्दतिको विकास, जिवनोपयोगी शिक्षा दिने योजना छ । गाउँमा कलेज तहको एउटा पनि शैक्षिक संस्था नहुँदा माध्यामिक शिक्षा पार गर्ने वित्तिकै युवाहरु शहर जानुपर्ने बाध्यता छ । ५ वर्षको दौरान गाउँमै कलेज ल्याउने, प्राविधिक स्कुल खोल्ने सोच छ ।

स्वास्थ्यतर्फ गढी क्षेत्रका जनतालाई सर्वसुलभ स्वास्थ्य सेवा दिन १५ देखि २० शैयाको अस्पताल निर्माण गर्ने जहाँ २४ सै घण्टा विशेषज्ञ सेवा सहितका चिकित्सक रहने व्यवस्था गर्नेछौं । साथमा प्रत्येक वडाहरूमा नियमित स्वास्थ्यकर्मीसहितको स्वास्थ्य केन्द्र स्थापना गर्नेछौं । नेपाल सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रम गाउँगाउँ पुर्याउने छौं ।

सडकतर्फ गढी आसपासका पालिकाहरुसँग जोडेर रिङ रोड निर्माण गर्ने, संघीय, प्रदेश सरकार अन्तरगतका हाइवे तथा हुलाकी मार्गहरुको विस्तार र निर्माणमा संघ प्रदेश सरकारसँग समन्वय गर्ने, ६ वटै वडाहरूमा रहेका सडकहरुलाई प्रत्येक वर्ष २० देखि २५ किलोमिटरका दरले कालोपत्रे गर्ने योजना छ ।

कृषि क्षेत्र गाउँपालिकाका जनताको मुख्य आम्दानीको श्रोत हो तर, यहाँका जनताहरु परम्परागत तवरले घर चलाउन मात्रै कृषि कर्म गरिरहनु भएको छ । आधुनिक कृषि प्रणाली अवलम्बन गरी जनतालाई व्यवसायिक कृषि कर्ममा प्रोत्साहन गर्ने, आधुनिक कृषि यन्त्रहरुका लागि राहत, अनुदान ल्याउने, युवाहरु कृषि कर्मबाट पलायन भएकोले उनीहरुलाई प्रोत्साहनका लागि पनि कार्यक्रम ल्याउने छौं । समयमै विउविजन तथा मल उपलब्ध गराउन सहजीकरण गर्ने हाम्रो प्राथमिकतामा छ ।

गढी गाउँपालिकासँग आफ्नै आम्दानीको श्रोत साधनहरु सिमित छन् । संघ र प्रदेश सरकारले दिने बजेटबाट नै यहाँको विकास, कर्मचारी व्यवस्थापन तथा प्रशासनिक कार्य हुने गरेकाले सोचे अनुसार विकास निर्माणमा खर्च गर्न सकिएको छैन । ७० प्रतिशत जनता कर तिर्ने हैसियतमा नरहेकाले संघ, प्रदेश तथा गैरसरकारी निकायसँग सहकार्य गरी बढीभन्दा बढी बजेट ल्याउनेछौं ।

पर्यटनका क्षेत्रमा धेरै गर्न सकिने क्षेत्रहरु छ । धार्मिक गढी वन क्षेत्रको संरक्षण गरी त्यहाँ पार्क निर्माण गरेर प्रदेशकै नमूना पर्यटकीय गन्तब्य बनाउने सोच छ । यहाँका जाति धर्म, संस्कृतिहरुको संरक्षण गरेर प्रवर्द्धन गर्ने रणनीति छ ।

हरेक वर्ष आउने वर्षायाम सँगै गढीका धेरै जनताहरु डुवानमा पर्ने गरेका छन् । यसलाई नियन्त्रण गर्न भोटे थलाहा खोला, टेंग्रा खोलाहरुका आवश्यक स्थानमा तटबन्ध निर्माण गर्ने, खोला किनारामा बृक्षरोपण गर्ने तथा अन्य आवश्यक राहत, पुर्नस्थापनाका कार्यहरु सञ्चालन गर्नेछौं ।

सामाजिक तथा सचेतनामुलक कार्यहरुलाई प्रभावकारी रुपमा परिचालन गरी समाजमा विद्यमान विभिन्न प्रकारका हिंसा, कूसंस्कार, विक्रिति विसंगति न्युनिकरण गर्दै समुन्नत, सूसंस्कृत समाज निर्माण गर्नु हाम्रो अभियान रहनेछ ।

सुशासन कायम गर्न सकियो भने जनताका धेरै आधारभूत आवश्यक्ताहरु संवोधन गर्न सकिन्छ । पालिकाले कुन शिर्षकमा कसरी काम गरेको छ रु जनताले विना संकोच, विना अवरोध जुनसुकै बेला सोधखोज गर्न सक्नेछन् । म जनताको सेवक बन्न आएको हो शासक हैन । भ्रष्टाचार मात्रै नियन्त्रण गर्न सकियो भने १० वर्षमा गाउँपालिकाको कायापलट हुन्छ । नियमित आन्तरिक लेखापरीक्षण गर्ने, समयसमयमा सार्वजनिक लेखा परीक्षण गर्ने यस्ता धेरै योजनाहरु रहेका छन् जसले ५ वर्षमा गाउँपालिकाको आर्थिक, सामाजिक क्षेत्रको विकासमा टेवा दिनेछ ।

चुनाब जितेर गएको भोलीपल्ट छिमेकीलाई समेत विर्सने परिपाटी छ, तपाईंलाई जनताले किन विश्वास गर्ने ?

तपाईले भनेको एक हदसम्म जायज पनि होला । तर, म मेरा मतदाता मात्र हैन मलाई मत नदिने जनतालाई पनि पक्षपात नगरीकन काम गर्ने छु । गढी मेरो जन्मभूमी, कर्मभूमी सबै हो । म यहाँका जनता, यहाँमा आमाबुबा दाजुभाई दिदीबहिनीबाट कहिल्लै विमुख भएर बसेको छैन । १५ वर्षसम्म यही क्षेत्रमा शिक्षण पेशा गरेर बसे, झण्डै १० वर्षयता लघुउद्यम कार्यक्रम मार्फत हरेक जनताका घरदैलोमा पुगे । मेरो बानी व्यवहार आम मतदाताले बुझ्नु भएको छ । एकपल्ट मलाई जिताएर सेवा गर्ने मौका दिनुहोस् । म शासक बन्न आएको हैन तपाईँहरूको सेवक भएर काम गर्नेछु ।

विगतमा चुनाब जितेर जानेहरुले राजनीतिक आस्थाकै आधारमा विकास निर्माण तथा अधिकारका सवालमा विभेदहरु गरे भन्ने गुनासो आयो, तपाईले जितेको खण्डमा मतदान नगर्नेहरुसँग तपाईको ब्यवहार कस्तो होला ?

विगतमा कसले कस्तो व्यवहार गर्यो त्यसतर्फ म जान चाहन्न । म अहिले नेकपा एमालेबाट उम्मेदवार भएपनि निर्वाचित भएर गइसकेपछि मेरो भूमिका सदैव गढीको यहाँका जनताको हितप्रति रहनेछ । गाउँपालिका अध्यक्ष भनेको कुनै एउटा व्यक्ति, समुह तथा राजनीतिक आस्था राख्नेको मात्रै हैन । म मेरो कार्य क्षेत्र, अधिकार र दायित्वप्रति निष्टावान रहेर गढीको विकास गर्न साझा व्यक्ति भएर काम गर्ने प्रतिबद्धता जनाउँछु ।

अन्त्यमा आम गढीबासी मतदातालाई के भन्नु हुन्छ ?

म तपाई गढीबासी तमाम आमाबुबा दाजुभाई तथा दिदीबहिनीको जिवनस्तर उकास्ने गरी, गढीलाई मुलुककै नमुना गाउँपालिका बनाउने गरी, यहाँको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकीय, धार्मिक, कृषि क्षेत्र सबैको विकास र प्रवद्र्धनका योजनाहरु सहित राजनीतिमा आएको हुँ । मसँग आर्थिक, सामाजिक क्षेत्रमा लामो समय कार्य गरेको अनुभव छ । एउटा संस्था राम्ररी चलाउन मसँग व्यवस्थापकीय अनुभव छ म त्यसलाई अब गाउँपालिका बनाउन प्रयोग गर्न चाहन्छु ।

तर, यसकालागि बैशाख ३० गते मलाई यहाँहरुको अमुल्य मतको आवश्यक छ । जसरी प्रत्येक विहानीको सुर्यको लालिले गढी गाउँपालिकामा सुनौलो रंग फैलाउँछ त्यसरी नै बैशाख ३० गते विहान उदाउने सुर्यसँगै गढीबासीले नेकपा एमालेको सुर्य चिन्हमा स्वस्तिक छाप लगाएर विकास र समृद्धिको ढोका खोलि दिनुहुनेछ भन्ने विश्वास लिएको छु ।