काठमाडौँ– सरकारले नेपाल प्रहरीको २९ औँ महानिरीक्षक(आईजीपी) पदमा धीरजप्रताप सिंहलाई नियुक्त गरेको छ । सिंहसंगै आईजीपीका लागि एआईजीपीहरु रविन्द्रबहादुर धानुक, विश्वराज पोखरेल र सहकुल थापा प्रतिस्पर्धामा थिए ।
तथापि आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अन्यको तुलनामा उपयुक्त ठहर गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक सिंहलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो ।नवनियुक्त सिंहले सोमबार नै दर्ज्यानी चिन्ह लगाएर कार्यभार समेत सम्हालिसकेका छन् । बढुवासंगै उनको हाल सर्वत्र चर्चा भइरहेको छ ।
आखिर को हुन् नव नियुक्त आईजीपी सिंह ?
वि.सं २०४९ चैत्र मा नम्बर वान इन्स्पेक्टर भएर नेपाल प्रहरी सेवामा प्रवेश गरेका सिंहले यसअघि प्रहरी नायब महानिरीक्षक (डीआईजी) छँदा मधेश प्रदेश र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को नेतृत्व गरेका थिए । त्यसपश्चात् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) छँदा उनले तत्कालीन महानगरीय अपराध अनुसन्धान महाशाखा (हालको उपत्यका अपराध अनुसन्धान कार्यालय) र एसपी छँदा पर्सा र दाङको सफल नेतृत्व गरेका थिए ।
नवनियुक्त आईजीपी सिँह व्यवसायिक प्रहरी अधिकारीका रुपमा पनि परिचित छन् । ट्रयाक रेकर्डमा सुरुबाट नै अगाडी हुँदाहुँदै पनि एमाले सरकारका कारण बीचमा अन्यायमा परेका थिए । उनले मधेश प्रदेशको कमाण्डदेखि सीआईबीको नेतृत्व सम्हाल्ने क्रममा समेत उत्कृष्ट कार्यक्षमता र व्यवसायिकता प्रदर्शन गरेसँगै सिँहको नेतृत्व कुशलतामा सरकारले विश्वास गरेको समेत बुझिएको छ ।
२०४९ चैत ११ गते प्रहरी निरीक्षक ९ईन्सपेक्टर०का रुपमा सेवा प्रवेश गर्दै गर्दा १ नम्बरमा धिरजप्रताप सिँह, २ नम्बरमा दिपेश लोहनी, ३ नम्बरमा उत्तम सुबेदी, ४ नम्बरमा बसन्त लामा र ५ नम्बरमा विश्वराज पोखरेल रहेका थिए । ईन्सपेक्टरबाट डीएसपी र डीएसपीबाट एसपी हुँदासम्म यही मेरिट कायम रहेको थियो ।
एसएसपी बन्दा भने मेरिट मिचियो अनि पोखरेल १ नम्बरमा र सिँह २ नम्बरमा पुगे । डीआईजी शुशिल भण्डारीको दुर्घटनामा मृत्युभएसँगै रिक्त रहेको पदमा पोखरेलले डीआईजीमा जम्प गरेका थिए । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र तत्कालीन अख्तियार प्रमुख नवीन घिमिरेबाट ईच्छाईएर पूर्वआईजीपी ठाकुर ज्ञावालीकै ब्याचका एसएसपी विरेन्द्र श्रेष्ठ बाँकी हुँदा हुँदै पनि पोखरेललाई डीआईजी बनाईएको थियो ।
एआईजी बन्दा समेत ईश्वर पोखरेलकै जोडबलमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादललाई समेत थाहा नै नदिई पोखरेललाई बढुवा सिफारिस गरिएको थियो । अहिलेका भूमिसुधार मन्त्री शशी श्रेष्ठ सभापति रहेको संसदको राज्यव्यवस्था समितिमा समेत बढुवालाई लिएर प्रश्न उठेको थियो । समितिले २०७७ मंसिर १४ गते एआईजीमा पोखरेलको बढुवा रोक्नु, कार्यान्वयन नगर्नु भन्दै सरकारको नाममा निर्देशनात्मक आदेश समेत दिएको थियो । तर सोबेला एमाले अध्यक्ष समेत रहेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको जोडबलमा सबै कुरा लत्याउँदै पोखरेललाई नै एआईजीपी बनाईयो ।
सरकारले गत चैत १ गते वसन्त पन्त, धिरजप्रताप सिँह र रविन्द्रसिँह धानुकलाई एआईजीपीमा बढुवा गरेसँगै आईजीपीको प्रतिस्पर्धा रोचक बनेको थियो । सोहि बेलादेखि नै सिंहलाई नै नयाँ आईजीपीको रुपमा सर्वत्र हेरिएको थियो ।
प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको वर्तमान सरकारले सिंहलाई न्याय गर्दै नेपाल प्रहरी प्रमुखका रुपमा जिम्मेवारी दिएको हो । नव नियुक्त आईजीपी सिंह नेपाल प्रहरीमा कुशल, क्षमतावान्, व्यवसायिक, इमान्दार र अब्बल प्रहरी अधिकारीका रुपमा चर्चित छन् ।
यस्तै, सिंह शिक्षा र तालिममा पनि उत्तिकै अब्बल मानिन्छन् । राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका उनीसंग सुरक्षा र व्यवस्थापन सम्बन्धी विभिन्न तालिमको अनुभव पनि छ । त्यसैगरि, उनले अपराध अनुसन्धान, व्यवस्थापन, विशेष व्यक्तिको सुरक्षा, मानवस्रोत व्यवस्थापन सम्बन्धी समेत तालिम लिएका छन् ।
यसबाहेक उनले एडभान्स ट्रेनिङ अन नेशनल सेक्युरिटी र अमेरिकाबाट अपराध तालिम लिनुका साथै उनीसँग शान्ति सुरक्षाका लागि पूर्वी टिमोर र सुडानमा गएर पनि काम गरेका थिए ।