काठमाडौँ– प्रत्येक वर्ष चैत्र कृष्ण औंसीका दिन काठमाडौं उपत्यकामा घोडेजात्रा मनाउने गरिन्छ ।


ADVERTISEMENT


आज चैत्र कृष्णपक्षको औँसी, यस दिन काठमाडौँको टुँडिखेलमा हज्जारौं सर्वसाधारणका बिच नेपाली सेना र नेपाल प्रहरीले घोडे जात्रा विशेष परेड, कृत्य अनि अभ्यासहरू प्रदर्शन गर्ने गर्दछन् । घोडे जात्राको दिन बिहानै नेपाली सेनाले जुद्ध सडकस्थित रेवन्त पीठमा बोकाको बलि दिएर जात्रा सुरु भएको जनाउ दिने गर्दछन् ।


ADVERTISEMENT

# # #


यसरी जनाउ दिएपछि क्रमशः दिउँसो टुँडिखेलमा घोडा र घोडसवारका विभिन्न कलाकौशलहरूको प्रदर्शनी सुरु हुन्छ । यसरी यस दिनमा गरिने प्रदर्शनको तयारी नेपाली सेना अनि नेपाल प्रहरीले महिनौँ अगाडिदेखि गरेका हुन्छन् । नेपाली सेनाका घोडसवारहरूले प्रतिस्पर्धात्मक रूपमा घोडा दौडाउने हुँदा आज टुँडिखेलमा हेर्नेको भीड लाग्ने गर्दछ ।

त्यसका अलावा सेनाले शारीरिक व्यायाम, जिम्याष्टिक तथा विभिन्न खाले अश्वकला, मोटरसाइकल खेल र युद्धकलाको समेत प्रदर्शन गर्ने गर्दछ । यसका लागि त्यहाँ घोडेजात्रा हेर्न राष्ट्र प्रमुखसहित उच्च पदस्थ व्यक्तित्वहरु, कुटनीतिक नियोगका प्रतिनिधिलाई आमन्त्रण गर्ने गरिन्छ ।

किन मनाइन्छ घोडेजात्रा ?

घोडेजात्रा मनाउनु पछाडि पनि एक किंवदन्ती रहेको छ । जसअनुसार, परापूर्व कालमा टुँडिखेलको पूर्व दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा नाम गरेको राक्षसले उपत्यकाको मानव बस्तीमा गएर विभिन्न प्रकारले दुःख दिने र बालबालिकाहरू खाइदिने गर्दथ्यो ।

यस्तो घटना नरोकिएपछि उपत्यकावासीले उक्त राक्षसलाई मार्न कालागि अनेक उपायहरू खोज्न थाले । त्यसै क्रममा उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको र त्यसैको विजय उत्सवका रूपमा घोडे जात्रा मनाउने परम्पराको शुरुआत भएको विश्वास गरिन्छ ।

यस्तै, आजकै दिन ललितपुरमा पनि एउटा घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ ।