काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सरकारी सम्पत्तिमा मनपरि गर्नेलाई छुट नदिइने बताएका छन् ।


ADVERTISEMENT


नेपाल विश्व हिन्दू महासङ्घले आज काठमाडौँमा आयोजना गरेको हिन्दू अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले पछिल्लो समय धार्मिक स्थलमा रहेका जग्गा, जमिन तथा भवनहरु अतिक्रमण गर्ने क्रम बढेको र अतिक्रमण ती भएका जग्गा, मठ, मन्दिरहरु सबै फिर्ता ल्याउने काम भइरहेको जनाउँदै सो धारणा व्यक्त गरेका हुन् ।


ADVERTISEMENT

# # #


‘म सरकारी सम्पत्ति हडप्नेका विरुद्धमा खरो रुपमा उत्रिएको छु, राम्रो काम गरेकाले मैले नागरिकको साथ र सहयोग पाइरहेको छु, सरकारी सम्पत्तिमा मनपरि गर्नेलाई कदापि छुट दिने छ’, उनले भने ।

यस्तै, उनले संविधानले सबै जातिको अधिकार समान रहने गरी धर्मनिरपेक्ष राष्ट्रको परिकल्पना गरेकाले नेपाल सबै जातजाती तथा धर्मावलम्बीहरुको साझा फूलबारी भएको समेत बताएका छन् । उनले भने, ‘हाम्रो राष्ट्र सबै जातजाति तथा धर्मावलम्बीहरुको अधिकार समान रहने गरी धर्मनिरपेक्ष राष्ट्र घोषित भएको छ, अब यो कुनै एक जातजाति र धर्मावलम्बीको मात्रै देश होइन सबैको साझा देश हो ।’

नेपाल एक बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक तथा विशेषतायुक्त राष्ट्र भएकाले यहाँ सबैले सामाजिक सद्भाव कायम राखी आ–आफ्ना कला, संस्कृति तथा धार्मिक कार्यहरु गर्न पाउने अधिकार भएको उनको भनाई छ ।

नेपाल विश्व हिन्दू महासङ्घले आयोजना गरेको हिन्दू अन्तर्राष्ट्रिय सम्मेलन दुई दिनसम्म सञ्चालन गरिने आयोजकले जनाएको छ । रासस