काठमाण्डौं-भारतबाट आयातीत युरिया मलको बोरामा कम तौल भएको अध्ययनबाट देखिएको छ । कृषि विकास मन्त्रालयले क्षेत्रीय कृषि निर्देशनालयका निर्देशक हस्तबहादुर विष्टको संयोजकत्वमा तीन सदस्य छानबिन समिति गठन गरेको थियो सो समितिले कात्तिक २१ गते मन्त्रालयलाई बुझाएको प्रतिवेदनले कम तौल भएको निष्कर्ष निकालेको छ ।


ADVERTISEMENT


कृषि सामग्री लिमिटेड क्षेत्रीय कार्यालय विराटनगरले भारतीय कम्पनी ब्रह्मपुत्र भ्याली फर्टिलाइजर कर्पोरेसन लिमिटेडबाट खरिद गरेको २५ सय मेट्रिक टन (५० हजार बोरा) युरिया मलको बोरामध्ये कम तौल भएका बोरा फेला परेको गुनासो आउन थालेपछि कृषि मन्त्रालयले कात्तिक १४ गते छानबिन समिति गठन गरेको थियो ।


ADVERTISEMENT

# # #


क्षेत्रीय कार्यालय विराटनगरमा रहेको ५० हजार बोरामध्ये ४७ हजार ३५४ बोरामा तौल पूरा भएको तथा कुनै कुनैमा बढी तौल भएको तर त्यसबाहेक ६८१ बोरामा कम तौल भएको पाइएको छ । त्यस्तै एक हजार ५२८ बोरा फुटेको र च्यात्तिएको र ५२९ बोरा पानीले भिजेको पाइएको छ । तौल कम भएका ६८१ बोरामध्ये २० वटा नमुना सङ्कलन गरी जाँच गर्दा औसतमा ४७ केजी, न्यूनतम तौल ४१ केजी र अधिकतम ५० केजी रहेको पाइएको प्रतिवेदनमा उल्लेख छ ।

भिजेको ५२९ बोरामध्ये १५ वटा नमुना जाँच गर्दा औसत तौल ४९ केजी, न्यूनतम ४७ केजी र अधिकतम ५१ केजी पाइएको छ । त्यस्तै फुटे च्यात्तिएको एक हजार ५२८ बोरामध्ये ३० वटाको नमुना परीक्षण गर्दा औसत ४९ केजी, अधिकतम ५१ केजी र न्यूनतम ४७ केजी पाइएको छ ।

यद्यपि भारतीय कम्पनीले नेपाली कम्पनीलाई दिएको लोडिङ प्रमाणपत्रमा युरिया मलको भौतिक तथा रासायनिक अवस्था परिमाण तथा प्याकिङ परिमाणमा कहीँ कतै घटीबढी नदेखिएको तथा त्यहाँबाट प्राप्त हरेक बोरा ५० केजीकै रहेको प्रतिवेदनमा उल्लेख छ तर छानबिन समितिले जाँच गर्दा कम तौल पाइएको उल्लेख गर्दै यो त्रुटि भारतीय कम्पनी ब्रह्मपुत्रको रहेको र त्यसको क्षतिपूर्ति सो कम्पनीबाट दिन लगाउने प्रतिवेदनमा उल्लेख छ ।

साथै फुटेको, च्यात्तिएको तथा फाटेको र भिजेको बोराको सन्दर्भमा सम्झौता अनुसार नपुग परिमाण ढुवानीकर्ताबाट असुलउपर गर्नुपर्ने समितिले सिफारिस गरेको छ । कम तौल भएका बोरालाई पुनः ५० केजी बनाउन पनि सिफारिस गरेको छ ।

क्षेत्रीय कार्यालय विराटनगर तथा अन्तर्गतका कार्यालयमा रहेको मलको बिक्री वितरण रोक्का गरेको देखिएकाले गहुँ तथा हिउँदे तरकारीको समयलाई मध्यनजर गर्दै मलको अभाव हुन नदिन मापदण्ड पूरा गरेका बोराहरू बिक्री वितरण गर्न पनि सिफारिस गरेको छ । विदेशबाट आउने रासायनिक मलको जाँच कडाइ गर्न सिफारिस गर्दै तौल र गुणस्तर यकिन गरेर मात्र गोदाममा राख्न समितिले सिफारिस गरेको छ । त्यसका साथै लोड गरिएको ट्रकलाई तौल गर्न धर्मकाँटाको व्यवस्था गर्न पनि भनिएको छ ।

प्रतिवेदन मन्त्रालयमा बुझाइए पनि त्यसको बारेमा अहिले कुनै प्रक्रिया अगाडि बढाएको छैन । समितिले सिफारिस गरेका कुराका बारेमा मन्त्रालयमा छलफल भइरहेको मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाले जानकारी गराए ।