काठमाडौँ – नेकपा एमालेका सांसद भीम रावलले ‘व्याख्यात्मक घोषणा’बाट सम्झौताका प्रावधानहरु सच्याइने कुरा गर्नु जनतालाई ठग्नु मात्रै रहेको बताएका छन् ।


ADVERTISEMENT


आइतबार एमसीसीमाथि प्रतिनिधिसभा बैठकमा भएको छलफलमा बोल्दै रावलले एमसीसीको ‘व्याख्यात्मक घोषणा’ महाकाली सन्धि अनुमोदान गर्ने बेलामा गरिएको निरर्थक संकल्प प्रस्ताव जस्तै रहेको टिप्पणी गरेका हुन् ।


ADVERTISEMENT

# # #


‘संकल्प प्रस्ताव र व्याख्यात्मक टिप्पणीबाट सम्झौताका राष्ट्रघाती प्रावधानहरु सच्याइने कुरा गर्नु जनतालाई ठग्नु मात्रै हो ।’ उनले भने, ‘यत्रो राष्ट्रिय स्वाधिनतासँग सम्बन्धित विषय यस्तो होहल्लाकै बीच प्रस्तुत गर्नु भनेको देशप्रतिको गद्दारी हो । जनताप्रतिको धोका हो । नेपाल राष्ट्रको अपमान हो । यस्तो अपमान गर्ने सरकार इतिहासमा देशघाती भनेर दर्ज हुनेछ ।’

एमसीसीमा जसले समर्थन गर्नेहरु राष्ट्रिय गद्दार बनेर नेपालको इतिहासमा अंकित हुने रावलले टिप्पणी गरे ।

उनले भने, ‘मूल सम्झौता र यसको आधारमा गरिएका दर्जन सम्झौता असमान छन् र यसमा भएका कतिपय प्रावधानले नेपालको सार्वभौम सत्ता, स्वाधिनता, राष्ट्रिय स्वतन्त्रता, स्वाभिमान र हितमा आघात पुर्याउँछन् ।’ सम्झौताको एउटा प्रावधानमा आयोजनाको अवधि ५ वर्ष भनिए पनि अरु प्रावधानले अनिश्चितकालसम्मका लागि रहने देखिने उनले दाबी गरे ।

एमसीसीमा भएका प्रावधानले नेपाललाई उपनिवेशीकरणको बाटोतर्फ धकेल्ने समेत उनले जिकिर गरे । विभिन्न दस्तावेजहरु र अमेरिकी मन्त्रीहरुकै भनाई अनुसार एमसीसी अमेरिकी राष्ट्रिय सुरक्षा रणनीति, जसमा पर्ने हिन्द प्रशान्त रणनीतिमा सामेल हुनु नेपालको परराष्ट्र नीति र असंलग्नता त्याग गरी अर्को देशसँग सामरिक गठजोडमा सामरिक गठबन्धनमा सहभागी भइ संविधानको नै उल्लंघन भएको ठहर्ने उनले बताए ।

सांसद रावलले एमसीसीमार्फत नेपाललाई अमेरिकी सुरक्षा छातामुनि राख्ने र विदेशी कम्पनीले समानान्तर सरकार चलाउने बाटो खोलिएको उनले दाबी गरे । उनले एमसीसी विरुद्ध मतदान गर्न समेत सांसदलाई आग्रह गरे ।

उनले नेपाली जनताले देशभर उठाएका आवाजहरुलाई बेवास्ता गर्दै नीहित सत्ता स्वार्थका लागि जबरजस्ती सम्झौता अनुमोदान गराउन खोजिएको भन्दै आपत्ति जनाए । उनले भने, ‘सत्ता र कुर्सीका लागि राष्ट्रिय स्वाधिनता र हितलाई गौण ठान्ने सोच र व्यवहार निन्दनीय छ ।’