खलङ्गा – चन्दननाथ नगरपालिका– ६ की सङ्गीता रावलको दुई वर्षअघिसम्म कमाइ केही थिएन । घरपरिवारको गुजारा चलाउन निकै गाह्रो हुन्थ्यो । आर्थिक उपार्जनका लागि उनले सीपमूलक तालिन लिइन् । अहिले उनलाई परिवार चलाउन सहज भएको छ ।


ADVERTISEMENT


आर्थिक आयआर्जनमा सहयोग पु¥याउने उद्देश्यले सामाजिक विकास कार्यालय जुम्लाले एकमहिने हाते होजियारी सीप सिक्ने व्यवस्था गरेपछि सङ्गीता विस्तारै आत्मर्निभर बन्न थालेकी छिन् । “तालिमले आर्थिक आयआर्जनको क्रियाकलापमा प्रत्यक्ष संलग्न भएको आभास दिलाएको छ”, उनले भनिन्, “सीप सिकेर आत्मनिर्भर बन्ने अभियानमा लागेकी छु ।” यो सीपले हाम्रो जीवनस्तरमा सुधार ल्याएको उनको भनाइ छ ।


ADVERTISEMENT

# # #


“एक महिनासम्म आर्थिक आर्जन गर्ने सीप सिक्यौँ”, सङ्गीताले भनिन्, “अब घरमै बसेर सिकेको सीप व्यवहारमा ल्याएर व्यावसायिक बन्ने कार्यमा जुट्छौँ । टोपी र मोजा बुन्न सिकेका छौँ । घरमै बसेर टोपी र मोजा बुनेर नजिकैको बजारमा बिक्री गर्न सहज भएको छ । यो सीपले हाम्रो जीवनस्तरमा सुधार ल्याएको छ ।”

चन्दननाथ– ४ की अमृता भारतीलाई पनि यस तालिमले व्यावसायिक बन्न पे्ररित गरेको छ । सानो लगानीमा सञ्चालन गर्न सकिने व्यवसाय भएकाले सहजै चलाउन सकिने छ । सिकेको सीप कहिले पनि खेर नजाने भएकाले जुनसुकै बेला काम लाग्ने उनको भनाइ छ । “सीप सिकेर मात्र हुँदैन”, उनले भनिन्, “उत्पादन गरी त्यसलाई बिक्री पनि गर्न सक्नुपर्दछ ।”

सङ्गीता र अमिृता मात्र होइन, जुम्लाको चन्दननाथ नगरपालिकाभित्रका बेरोजगार महिला अहिले सीप सिकेर स्वरोजगार बन्न थालेका छन् । गरिब तथा विपन्न वर्गका महिलालाई आर्थिक तथा सामाजिक रूपमा अगाडि बढाउन यसप्रकारका तालिमको आयोजना गरेको सामाजिक विकास कार्यालयले जनाएको छ । कुनै बेला श्रीमान्सँग हात थापेर गुजारा गर्ने यी महिलाहरू अहिले आर्थिक रूपमा आफैं सवल बन्न थालेका छन् । अर्थले मान्छेको जीवनमा ठूलो प्रभाव पार्छ । उनीहरू पनि समाजमा आर्थिक रूपमा सक्षम बन्दै गएका छन् । आफूहरूलाई आर्थिक रूपमा सक्षम बनाउन सहयोग गर्नेप्रति उनीहरू खुसी छन् ।

पछिल्ला दिनमा हरेक क्षेत्रका महिला आत्मनिर्भर हुँदै आएकोमा यहाँका महिलाले गरेका उत्पदानका कामले अरू पनि प्रभावित भएका छन् । उनीहरूका परिवार पनि यसबाट खुसी छन् । जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालबहादुर सार्कीले सीपलाई व्यावसायिकरूपमा अगाडि बढाउन महिलालाई आग्रह गरे । बजारमा पाइने रेडिमेडभन्दा हातले बुनेका मोजा, टोपी बलियो र टिकाउ हुनेहुँदा सीपलाई सही सदुपयोग गर्न उनले सुझाए ।