उर्लाबारी – मिक्लाजुङ–६ बेतेनीका ६३ वर्षीय मानबहादुर गोले त्यो कहालिलाग्दो दिन सम्झेर भक्कानिन्छन् । विसं २०७३ असार ७ गते बाढीले उनको घर र खेत बगायो । अहिले जंगलमा टहरा बनाएर बस्दै आएका छन् ।


ADVERTISEMENT


गोले मात्र हैनन, नुनसरी बक्राहा खोलाको बाढीले घरबारविहीन भएका दुई दर्जनभन्दा बढी घरपरिवार अहिले टहरामा बास बस्दै आएका छन् । डेढ वर्षदेखि स्थानीय मिक्लुङ सामुदायिक वनमा टहरा बनाएर बस्दै आएका उनीहरुको बाढीले १३० बिगाहाभन्दा बढी खेतीयोग्य जमिन बगरमा परिणत गरिदिएको छ ।


ADVERTISEMENT

# # #


“जंगली जनावरको त्रास बोकेर बास बसेका छौँ,” २२ वर्षीय डम्बर दर्जीले भने, “राति जंगली हात्तीले सताउँछ, ज्यानै जाला भन्ने डर भइसक्यो ।”

अहिले चारैतिर चुनावी चहलपहल छ । स्थानीयवासी नरमाया अधिकारी आफूहरुलाई चुनाव नलागेको बताउँछिन् । स्थानीय तह निर्वाचनमा आश्वासन बाँडेर गएका नेता अहिलेसम्म फर्केर नआएको उनको भनाइ छ ।

“थुप्रै वाचा बाँडेर गएका थिए, फर्केका छैनन्,” उनले भनिन् । आसन्न मंसिर १० र २१ गतेको चुनावमा उठेका उम्मेदवार कोही पनि अहिलेसम्म नआएका अधिकारीले बताउँछिन् ।

अधिकारीलाई मात्रै हैन विस्थापित भएका बाढीपीडितलाई निर्वाचनबारे खासै जानकारी छैन । अहिलेसम्म चुनावी अभियान लिएर कुनै पनि दलका नेता र उम्मेदवार नपुग्दा उनीहरुमा चुनावसम्बन्धी उत्साह छैन । उनहरु भन्छन्, “जसले बासको व्यवस्था गरिदिन्छ उसैलाई दिइन्छ भोट ।”

आँगनमा काखेबालकलाई खेलाउँदै बसेकी मनिला तामाङ गुरुयोजना बनाएरै खोलाको तटबन्ध गर्न उम्मेदवारसँग माग गर्ने बताउँछिन् ।

मिक्लाजुङ मोरङको क्षेत्र नं १ मा पर्छ । मंसिर २१ गते दोस्रो चरणमा हुने निर्वाचनमा यस क्षेत्रमा वाम गठबन्धनबाट एमालेका घनश्याम खतिवडा र काँग्रेसबाट डिगबहादुर लिम्बू उम्मेदवार बनेका छन् । प्रतिनिधिसभा सदस्यका लागि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अशोक चेम्जोङ, नेपाल संघीय समाजवादी पार्टीबाट नरेन्द्रशम्शेर लिम्बू, राष्ट्रिय जनमुक्ति पार्टीबाट फिपराज लिम्बू छन ।

यस्तै नयाँ शक्ति पार्टीबाट हरिप्रसाद न्यौपाने, मंगोल नेशनल अर्गनाइजेशनबाट सुरज लिम्बू, संघीय समाजवादी फोरम नेपालबाट राजकुमार लिम्बू तथा स्वतन्त्रबाट यामप्रसाद दाहाल र भीमबहादुर तामाङ चुनावी प्रतिस्पर्धामा छन् । यस निर्वाचन क्षेत्रमा एक लाख सात हजार २३५ मतदाता रहेका छन् ।