गलकोट – गलकोट नगरपालिका–३ बस्ने गोमा अर्गेजा अघिल्लो महिना हटिया स्वास्थ्य चौकीमा पुगेर सुत्केरी हुँदा ल्याब सेवा पनि पाएकाले सजिलो भएको बताइन् । ‘चारपटक गर्भजाँच र एकपटक भिडियो एक्स–रे पनि गराउन पाएर ढुक्क भएँ,’ उनले भनिन्, ‘यसअघिको बच्चाको पालामा पाल्पा पुगेकी थिएँ, अहिले यहीँ सेवा पाएँ ।’


ADVERTISEMENT


गलकोट नगरपालिका–८ का सुरेश विकले बिरामी हुँदा रगत, खकार, पिसाबसमेत हटिया स्वास्थ्य चौकीमा परीक्षण गर्न पाएको बताए। ‘कोरोनाले सङ्क्रमित भएर पनि अन्यत्र जानुपरेन, यही सेवा पाएँ’ विकले भने, ‘सदरमुकाम जानु परेको भए होटेल खोजेर बस्नुपथ्र्यो, जाने सवारी भाडा आदि गर्दा रु पाँच हजारले पुग्दैनथ्यो ।’ हटिया स्वास्थ्य चौकीमा सबै सेवा निःशुल्क पाएको उनले बताए ।


ADVERTISEMENT

# # #


पत्नी सुनितालाई प्रसूति व्यथाले च्याप्दा मध्यरातमा लगेर सुत्केरी गराएको उनले बताए । ‘अहिले यहाँबाट चौबिसै घन्टा स्वास्थ्य सेवा सुरु भएको रहेछ, त्यसैले रातमा पनि सहज भयो’ विकले भने । उनको घर भएको कांडेवासमा यो सेवा छैन । त्यसैले रातारात हटिया ल्याएको उनले बताए ।

हटिया स्वास्थ्य चौकी प्रमुख दिलु सुवेदीका अनुसार जिल्ला सदरमुकामपछि सबैभन्दा धेरै बिरामीले हटियाबाट स्वास्थ्य परीक्षण र सेवा लिन्छन् । गत वर्ष ८६० जनाले ल्याब सेवा लिएकामा चालु वर्षमा ४५० जनाले सेवा लिइसकेका छन् ।

हरेक वर्ष २५० भन्दा बढीले सुरक्षित सुत्केरी सेवा लिने गरेका छन् । चालु वर्ष पनि एक सयभन्दा बढीले सेवा लिइसकेको उनले बताइन् । ‘स्वास्थ्य संस्थामै सुत्केरी हुनेको सङ्ख्या शत्प्रतिशत पुग्न थालेको छ,’ सुवेदीले भनिन्, ‘एकाध बाहेक सबैले स्वास्थ्य संस्थाको सेवा लिने गर्छन् ।’

गलकोट नगरपालिकाले चारपटक गर्भ जाँच गरेर स्वास्थ्य चौकीमै सुत्केरी भएका महिलालाई चार हजार ५०० रुपैयाँ प्रोत्साहन भत्ता दिने गर्छ । नेपाल सरकारले दिने दुई हजारसमेत थप्दा छ हजार ५०० रुपैयाँ बुझेर फर्कन्छन् । रासस