अछाम – अछामको रामारोशन गाउँपालिकामा ६२ जना कर्मचारीको दरबन्दी रहेको छ । यो गाउँपालिकामा अहिले १५ जना स्थायी कर्मचारी मात्रै छन् । बाँकी ४७ जना कर्मचारीको अभाव गाउँपालिकाले करारमा कर्मचारी नियुक्त गरेर पूरा गरेको छ भने वडा कार्यालय र गाउँपालिकाको प्रशासन गरी दुई क्षेत्र एउटै कर्मचारीले सम्हालेको छ ।


ADVERTISEMENT


अहिले पनि गाउँपालिकाका पाँच वडा कार्यालय वडा सचिवविहीन छन् । वडा नं ३ र ४ मा वडा सचिव भए पनि अन्य पाँचवटा वडा कार्यालयको जिम्मा शिक्षा शाखा, स्वस्थ्य शाखा तथा अन्य शाखामा कार्यरत कर्मचारीहरुलाई जिम्मेवारी दिइएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारीले बताए ।


ADVERTISEMENT

# # #


ग्रामीण क्षेत्रमा कर्मचारीहरु जान भने मान्दैनन् । अछामका अधिकांश स्थानीय तह अहिले पनि निमित्तकै भरमा चलेका छन् । सङ्घीय संरचनामा देश गइसकेको भए पनि अझै कर्मचारी व्यवस्थापनमा भने निकै ढिलाइ हुँदै आएको छ । एकातिर दरबन्दीअनुसार कर्मचारी नहुनु समस्या छ भने अर्कोतिर सम्बन्धित कार्यक्षेत्रमा नगई बिदामै बसेर आफ्नो काज मिलाउनसमेत कैयौँ कर्मचारीहरुले गर्दै आएका छन् । त्यसको मारमा रामारोशन गाउँपालिका पनि परेको छ ।

“कर्मचारी अभावका कारण सेवाग्राहीको कार्य सम्पादनमा निकै समस्या रहँदै आएको छ । अर्कोतिर सेवाग्राहीलाई पनि निकै सास्ती हुँदै आएको छ,” निमित्त प्रमुख प्रशासकीय अधिकृत भण्डारीले भने, “गाउँपालिकाका शाखामा कार्यरत कर्मचारीहरुले शाखाको काम गर्नुपर्ने बाध्यता भएका कारण गाउँपालिकामै बस्नुपर्ने र वडा कार्यालयमा जानसक्ने अवस्था नरहेकाले पनि सेवाग्राहीले वडाबाटै हुने कामका लागि पनि गाउँपालिका पुग्नुपर्ने बाध्यता छ ।” उनले सङ्घीय र प्रदेश सरकारलाई पनि पटकपटक कर्मचारी व्यवस्थापनका लागि आग्रह गर्दा पनि त्यसको सुनुवाइ नभएको बताएका छन् ।

त्यही क्षेत्रबाट निजामतीमा प्रवेश गरेका कर्मचारीहरुले दुर्गम रोजे पनि बाहिरबाट कर्मचारीलाई ल्याएर व्यवस्थापन गर्न निकै चुनौती देखिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताए । “कर्मचारी आउँछन् तर आउने समयमै सरुवा ल्याएर आउने र हाजिर लगाएर सरुवा हुने गरेका छन्,” भण्डारीले भने, “त्यस्तै परे एकदुई महिना बस्छन् । त्यसपछि फेरि अन्य शाखाको कर्मचारीहरुलाई जिम्मेवारी दिनुको अर्को विकल्प हुँदैन ।”


ADVERTISEMENT


#
#


प्रमुख प्रशासकीय अधिकृतको दरबन्दी रहेको गाउँपालिकामा अहिलेसम्म दुईजना प्रमुख प्रशासकीय अधिकृत गाउँपालिकामा उपस्थित भए पनि उनीहरु दुईचार महिनामै सरुवा भएर गएपछि २०७६ सालदेखि गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा छ । “कर्मचारीका लागि हामिले निकै प्रयत्न गर्दै आएका छौँ । स्वास्थ्य र शिक्षा शाखामा कर्मचारीहरु व्यवस्थापन गर्न सकिए पनि प्रशासन तथा वडा कार्यालयमा दरबन्दी अनुसारको कर्मचारी व्यवस्थापन अझै हुनसकेको छैन,” गाउँपालिका अध्यक्ष झङ्करबहादुर साउँदले भने, “आएका कर्मचारीहरु पनि बस्न मान्दैनन् । भौगोलिक विकटताका कारण पनि हुनसक्छ, हामीले चार वर्ष गाउँपालिका निमित्तको भरमा चलाउनु परेको छ ।”

उनले जनतालाई गाउँगाउँमा सिंहदरबार आएको अनुभूति अझै हुन नसक्नुको मुख्य कारण मध्येको एक कर्मचारी अभाव पनि भएको बताउँदै सङ्घीय संरचनाअनुसार आधारभूत कुराहरूको व्यवस्थापनमा देखिएको उल्झनले पनि जनतामा निराशा देखिएको बताए । “अब वडा कार्यालयबाट हुने कामका लागि एउटा सेवाग्राही गाउँपालिका पुग्नुपर्छ भने त्यहाँ न्यायोचित हुँदैन । फेरि गाउँपालिकाले सबै कर्मचारी व्यवस्थापन गर्न त्यत्रो गाउँपालिकाको स्रोत पनि छैन,” गाउँपालिकाका अध्यक्ष साउँदले भने, “प्रदेश सरकारले लोकसेवाको विज्ञापन खोल्नै सकेको छैन । सङ्घीय सरकारसँग कर्मचारी माग गर्दा त्यसको सुनुवाइ नै हुँदैन । यस्तो अवस्थामा जनप्रतिनिधिहरुले मात्रै के गर्ने ?” रासस