काठमाडौँ– टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार लालबहादुर विश्वकर्मा (एलबी) को २४ वर्षको अल्पायुमै भएको असामयिक निधनप्रति नेपाल पत्रकार महासंघले शोक व्यक्त गरेको छ । महासंघले बिहीवार एक सुचना जारी गर्दै पत्रकार एलबीको निधनप्रति श्रद्धाञ्जलि एवम् शोक प्रकट गरेको हो ।


ADVERTISEMENT


अछामको रामारोशन निवासी पत्रकार विश्वकर्मा पछिल्लो समय काठमाडौंमा रही पत्रकारितामा सक्रिय थिए । उनले इमेज टेलिभिजन, जनता टेलिभिजन, इकागज डटकम लगायतमा काम गरेका थिए । उनको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल, उर्जाशील र जुझारु युवा पत्रकार गुमाएको महासंघको सुचनामा उल्लेख छ । ‘महासंघ स्वर्गीय पत्रकार विश्वकर्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछ’, सुचनामा भनिएको छ ।


ADVERTISEMENT

# # #


स्वास्थ्यमा अचानक समस्या देखिएपछि बुधबार राति ललितपुरस्थित पाटन अस्पताल पुर्‍याइएका विश्वकर्माको उपचारकै क्रममा आज बिहान ३ः०० बजे निधन भएको थियो । स्वर्गीय विश्वकर्माका श्रीमती र तीन वर्षीय एक छोरा छन् । यस्तै, सहज उपचारको अभावमा पत्रकार विश्वकर्माको निधन सुन्नमा आउनु आफैँमा अत्यन्त दुःखद् एवम् गम्भीर विषय रहेको महासंघको अभिव्यक्ति छ ।