गोबिन्द रिजाल


ADVERTISEMENT


अचेल मलाई
मान्छेसंग डर लाग्छ
अर्थात्
मुकुण्डो लगाएका
मान्छेसंग ।


ADVERTISEMENT

# # #


परिचित पनि
परिचित जस्ता छैनन्
आफन्त पनि
वैरी जस्ता देखिन्छन्
सबका सब छद्म भेषमा
हिँड्न थालेपछि
साच्चै,
अचेल मलाई
मान्छेसँग डर लाग्छ ।

बरू बाघ भेटिए
यसो भलाकुसारी हुन्थ्यो
क्षेम कुशल सोधिन्थ्यो
हात्ती भेटिए नि
संगै लम्किनु हुन्थ्यो गन्तव्यमा
सर्प, बिच्छि, बारूलो
जे भेटिए पनि हुन्छ
तर मान्छे नभेटिए हुन्थ्यो
किनकि
अचेल मलाई
मान्छेसंग डर लाग्छ ।

होईन कहिलेसम्म
हेर्न पर्ने हो
नाक मुख नभएका
मान्छेहरू
अनुहार नभएका मान्छेहरू
एउटा सग्लो मान्छे
भेट्न पनि कति दिन, महिना
वर्ष कुर्नुपर्ने हो
अनुहार नभएका मान्छेहरू
मात्र देखेर होला
सत्य, मरिजाऊ
अचेल मलाई
मान्छेसंग डर लाग्छ ।

अनुहार नभएका मान्छेहरू
काल हुन् कि यमराज हुन्
किटाणु हु्न् कि भाईरस हुन्
शत्रु हुन् कि मित्र हुन्
कसरी छुट्टयाउनु र
यिनै नाङ्गो आँखाको
प्रयोगशालाबाट,
अहँ म छुट्टाउन सक्दिन
त्यसैले बिन्ती छ
आँखा सामु नआईदिनोस
अचेल मलाई
मान्छेसंग डर लाग्छ ।

मुकुण्डोधारी मान्छेहरू
काल जस्तै देखिन्छन्
किटाणु जस्तै देखिन्छन्
जिउँदा भाईरस जस्तै देखिन्छन्
मान्छेसँगको विश्वास टुटेपछि
धरोधर्म,
अचेल मलाई
मान्छेसंग डर लाग्छ ।

त्यसैले त,
म गुमनाम छु अचेल
गुप्तवासमा छु
यस्तो लाग्छ
बरू एउटा भुत भेटियोस्
एउटा राक्षस भेटियोस्
ठिकै छ
तर नभेटियोस्
एउटा मात्र पनि
अनुहार हराएको मान्छे
किनकि,
रामो राम
अचेल मलाई
मान्छेसंग डर लाग्छ
छद्मरूपि
अनुहारविहिन मान्छेसंग ।

मास्कको प्रयोग गरौं, सुरक्षित रहौं, सुरक्षित रहन मद्दत गरौं ।

(सीडिओ रिजाल हाल कोरोना संक्रमणका कारण आइसोलेशनमा आफ्नो दिनचर्या व्यतीत गरिरहेका छन् ।)