डा. प्रगती थापा : छाला तथा यौन रोग विशेषज्ञ, ह्याम्स हस्पिटल


ADVERTISEMENT


हाम्रो शरीर र बाहिरी वातावरणबीच घनिष्ठ सम्बन्ध रहेको हुन्छ । जसकारण पनि बद्लिदो मौसमको प्रभाव हाम्रो शरीरमा स्वतः रुपमा देखा पर्दछ । अझ भनौँ बाहिरी वातावरणको प्रभाव सबैभन्दा पहिले हाम्रो शरीरको बाहिरी भागमा रहेको छालामा देखा पर्दछ ।


ADVERTISEMENT

# # #


हाल जाडोयामको मौसम रहेको सन्दर्भमा भन्नुपर्दा यस समयमा अधिकांशमा देखिने छालासम्बन्धी साझा समस्या निम्न रहेका छन् :

१. छाला फुस्रो हुनु

छालामा पानी एवम् तैलीय पदार्थको कमी भएर हुने यस समस्याअन्तर्गत व्यक्तिको  छाला फुस्रो वा सुख्खा हुन गई छालामा ‘फ्लेक्स’ भनिने चाँयाजस्तो कत्रा–कत्राहरु देखा पर्न थाल्छन्  । जसकारण व्यक्तिमा शरीर चिलाउने, कन्याउँदा रगत आउने र घाउ हुनेजस्ता समस्या देखा पर्दछ ।

२. एग्जेमा

जाडोयाममा साझा रुपमा देखिने अर्काे समस्या भनेको एग्जेमा पनि हो । छालाको एलर्जी पनि भनिने यस समस्या अन्तर्गत पनि व्यक्तिलाई शरीर चिलाउने, चिलाएर रातो हुने र छालाबाट चाँयाजस्तो कत्रा कत्रा निस्कने हुन्छ ।

३. सोरायासीस

नेपालीमा ‘कत्ते रोग’ पनि भनिने यो समस्या व्यक्तिमा तुलनात्मक रुपमा जाडोयाममा बढी देखा पर्दछ । प्रायजसोः घुँडा, कुहिनो, टाउको र ढाडका भागमा रातो दादको साथ देखा पर्ने यो समस्या समयमै उपचार नगरेको खण्डमा बढ्दै जान्छ ।

४. छालाहरु फुट्नु

जाडोयाममा साझा रुपमा देखापर्ने अर्काे समस्या भनेको छाला फुट्नु पनि हो । यस समयमा प्रायजसोः स–साना बालबालिकाहरुमा ओठ तथा गालाका भागका छालाहरु फुट्ने गरेको पाइन्छ । चिलाउने र पोल्ने समस्या देखा पर्ने यो समस्याले फुटेका भागमा घाउहरु समेत बनाउने सम्भावना उच्च रहन्छ ।

५. एक्ने अर्थात् डन्डिफोरका समस्या

जाडोयाममा किशोर–किशोरीदेखि वयस्कहरुमा समेत साझा रुपमा देखिने समस्यामध्ये एक्ने अर्थात्  भनेको डन्डिफोरका समस्या पनि हो । छाला सुख्खा हुने भएकै कारण देखा पर्ने यस समस्या तुलनात्मक रुपमा जाडोयाममा नै बढी देखापर्दछ ।

६. कोल्ड अर्टिकेरिया

छालाको एलर्जीको विभिन्न प्रकारमध्ये जाडोयाममा साझा रुपमा देखापर्ने समस्या भनेको कोल्ड अर्टिकेरिया पनि हो । अर्टिकेरिया भन्ने बित्तिकै एलर्जीका कारण छालामा देखापर्ने स–साना गोलो आकारको रातो–रातो किसिमको डाबर भन्ने बुझिन्छ । र, यो समस्या जाडोयाममा देखिने भएकाले पनि यसलाई कोल्ड अर्टिकेरिया भनिएको हो । बाहिरी वातावरणमा तापक्रमको चाप न्यून भएको समयमा देखापर्ने यस समस्याले व्यक्तिलाई विशेषतः बिहान र बेलुकी बढी सताउँछ  ।

७. विन्ड बर्न

चिसो मौसमका लाग्ने हावाका कारण व्यक्तिमा विन्ड बर्नका समस्या पनि देखिने हुन्छ । यस समस्या अन्तर्गत व्यक्तिका छालाका केहि भागहरु एक्कासी रातो भएर तात्तिएर आउने हुन्छ ।

कारणहरु

हाम्रो छाला सुख्खा हुन नदिनका लागि जति पानीको आवश्यक पर्छ त्यति नै तेलको पनि । तसर्थ जाडोयाममा जति पनि छालासम्बन्धी समस्याहरु देखापर्छन् ती सबैको मुख्य कारण भनेकै छालामा तेल र पानीको असन्तुलन हुनु हो । तसर्थ यसबाहेक छालामा देखा पर्ने समस्यालाई बढावा दिने अन्य कारक तत्वहरु निम्न रहेका छन् :

–बाहिरी वातावरण एवम् शरीरमा आद्रता (ह्युमिडीटी) को कमी हुनु

–शरीरले उत्पादन गर्ने तेलको कमी

–आगो एवम् हिटरको अत्याधिक प्रयोग

–पानीको कम उपभोग

–वंशाणुगत गुण

–छाला संक्रमण

–र, उचित डाइटको अभाव ।

बच्ने उपाय

कुनै पनि समस्याबाट बच्ने भरपर्दो  उपाय भनेकै त्यसका कारक तत्वबाट बच्नु हो । तसर्थ यसका लागि हामीले निम्न उपायहरु अपनाउन सकिन्छ :

मोस्चराईजर क्रिम तथा लोसनको प्रयोग

जाडोयाममा छालाहरु सुख्खा हुने भएकाले यसका लागि हामीले उचित रुपमा छालामा मोस्चराइजर क्रिम तथा लोसनहरु एप्लाई गर्नुपर्छ । यसका लागि हामीले आयल बेस मोस्चराईजर क्रिम तथा लोशनको छनोट गर्नुपर्छ ।

हामीले नुहाउना साथ शरीरमा पानी नसुक्दै क्रिम वा लोशन प्रयोग गर्नु उपयुक्त रहन्छ । यसैगरी क्रिम वा लोशनको विकल्पमा हामीले नरिवलको तेल (कोकोनट आयल)को पनि प्रयोग गर्न सक्छौ ।

तातो पानीमा लामो समय व्यतीत नगर्ने

जाडोयाममा हामीहरु प्रायजसोः तातो पानीकै प्रयोग बढी गरिरहेका हुन्छौ । अझ, शरीरलाई आनन्द दिने नाउँमा हामी यस समयमा आवश्यकभन्दा बढी तातो पानीको प्रयोग गर्छौ  । जसले पनि छालाको तेलीय पदार्थमा हृास ल्याई छाला सुख्खा हुने समस्या निम्त्याउँछ ।

यसकारण पनि हामीले यस्ता समस्या ननिम्तियोस् भन्नका लागि धेरै तातो पानीको प्रयोग नगरी मनतातो पानीको प्रयोग गर्नुपर्छ भने धेरैबेर तातो पानीमा नै आफ्नो समय व्यतीत गर्नुहुदैन ।

खुल्ला वातावरणमा मात्रै आगो वा हिटरको प्रयोग

जाडोयाममा शरीरलाई उचित तापक्रम प्रदान गर्नका लागि हामीमध्ये धेरैजसोले अपनाउने साझा विकल्प भनेकै आगो वा हिटरको प्रयोग हो । अझ, बाहिरी हावा बहावका कारण चिसो हुने भएकाले केहि व्यक्तिहरुले बन्द कोठाभित्र नै हिटर तथा आगोको प्रयोग गर्ने गर्छन् । परिणामस्वरुप: त्यस्ता व्यक्तिहरुमा पनि छाला सुख्खा भई यससम्बन्धि अनेकौँ समस्याहरु देखा पर्छ ।

तसर्थ यसो हुन नदिनका लागि हामीले आगो तथा हिटरको प्रयोग गर्दा हावाको आवतजावत हुने ठाउँ र खुला वातावरण चयन गर्नुपर्छ ।

शरीर ढाक्ने कपडाको प्रयोग

जाडोयाममा देखिने छालासम्बन्धीका समस्याबाट बच्नका लागि हामीले घरभित्र बस्दा वा बाहिर निस्कदा सबै शरीर ढाक्ने कपडाको प्रयोग गर्नुपर्छ । शरीरलाई न्यानो समेत प्रदान गर्ने भएकाले यस समयमा सकेसम्म भित्री वस्त्रहरुमा कटनको प्रयोग गर्नु उचित रहन्छ ।

पेट्रोलियम जेलीको प्रयोग

ओठ तथा छाला फुट्नुको प्रमुख कारण भनेकै छालाको सुख्खापन हो । यसका लागि हामीले छाला फुट्ने र फुटेका भागहरुमा जुनसुकै पेट्रोलियम जेलीहरुको प्रयोग गर्न सकिन्छ ।

पानी तथा झोलिलो खानाको पर्याप्त सेवन

जाडोयाममा बाहिरी वातावरणको ह्युमिडिटीका साथसाथै शरीरकै पनि ह्युमिडिटी कम हुने भएकाले पनि यस समयमा छालासम्बन्धी विभिन्न समस्या देखा पर्दछ । तसर्थ शरीरमा पानिको कमी नहोस्  यसकै अभावका कारण कुनै पनि समस्या नदेखियोस् भन्नका लागि हामीले पानीको पर्याप्त सेवन गर्नुपर्छ ।

विकल्पमा व्यक्तिले आफुलाई मनपर्ने झोलिलो खाना (सुप र धेरै रस भएका झोलिलो खाना)को समेत प्रयोग गर्न  सकिन्छ ।

उचित डाईटको प्रयोग

 उसो त, उचित डाईटको सम्बन्ध जाडोयामसंग मात्रै सम्बन्धित रहन्छ भन्ने होइन । यसको प्रभाव व्यक्तिमा जुनसुकै मौसममा पनि देखिन सक्छ । उचित डाईटको अभावले व्यक्तिको शरीरका भित्री भागमा त, नकरात्मक प्रभाव पुर्याउँछ नै संगै फलस्वरुपः यसको प्रभाव व्यक्तिको बाहिरी भागमा रहने छाला, नङ एवम् कपालमा समेत स्पष्ट रुपमा देखापर्दछ ।

तसर्थ यसको प्रभाव आफ्नो छाला, नङ एवम् कपालमा देखा नपरोस् भन्नका लागि हामीले मुख्यतयाः एन्टिअक्सोडेन्टयुक्त खानाहरुको प्रयोग गर्नुपर्छ । वर्तमान समयमा अधिकांश व्यक्तिहरुले यसको परिपूर्ति सप्लिमेन्ट्स(विभिन्न औषधि वा चक्कीको प्रयोग) को माध्यमबाट गरिरहेको देखिन्छ ।

तर, यसको सट्टामा हामीले आफ्नो दैनिक आहारमा हरियो तरकारी तथा सागपात, दुध र दुधजन्य परिकार, प्रोटिनयुक्त खाद्यवस्तु-गेडागुडी, भटमास, तोफु, अन्डा तथा माछामासुको समावेश गराउनु उपयुक्त रहन्छ भने बजारमा उपलब्ध रेडिमेड खाना/जंकफुड, तेलमा तारिएका एवम् चिप्सजस्ता खानोकुराबाट टाढै रहनुपर्छ ।