काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुवुदु दसानायकेले पछिल्लो समय खेलाडी र नेपाल क्रिकेट संघ (क्यानै)बीच देखिएको समस्या समाधानका लागि पहल थाल्ने बताएका छन् ।


ADVERTISEMENT


बिहीबार पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रशिक्षक दासानायकेले आफू खेलाडी केन्द्रित वातावरण बनाउनका लागि भूमिका खेल्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


प्रशिक्षक पुवुदुले क्यानले कप्तान ज्ञानेन्द्र मल्ललाई हटाएर सन्दीप लामिछानेलाई कप्तान बनाउने निर्णयमा परिवर्तन नहुने बताए । उनले आफुले क्यान र खेलाडी दुबै पक्षसँग छलफल गरेको र क्यानले कप्तान परिवर्तन नगर्ने बताएको जानकारी दिए । उनले भने, ‘कप्तान परिवर्तन हुनेछैन । किनकी यसको निर्णय गर्ने सम्पूर्ण अधिकार क्यानसँग रहेको छ । बोर्डको निर्णयलाई एउटा प्रशिक्षकको रुपमा म चुनौति दिन सक्दिनँ

उनले खेलाडी वर्गीकरणको समस्या समाधानका लागि खेलाडी र क्यान पक्षसँग छलफल गर्ने बताए ।

कारबाहीमा परेका खेलाडीले ज्ञानेन्द्र मल्ललाई पुनः कप्तान नबनाएसम्म खेल्दैनौँ भने के गर्नुहुन्छ भन्ने प्रश्नमा पुवुदुले भने, ‘यस्तो अवस्था आउँछ जस्तो मलाई लाग्दैन । एउटा प्रशिक्षकका रुपमा म सबै खेलाडीका लागि खेल्ने वातावरण बनाउन लाग्नेछु ।’ नेपाली युवा खेलाडीमा प्रतिभा रहेको भन्दै मुख्य प्रशिक्षक दशानायकेले अरु एसोसिएट देशमा यस्तो नदेखिएको टिप्पणी गरे ।

भर्खरै मात्र नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका पुवुदु मंगलबार मात्रै नेपाल आएका थिए । डेढ महिनापछि ओमानमा सुरु हुन ​टी–२० विश्वकप छनोटको तयारीका लागि नेपाली टोलीको बन्द प्रशिक्षण शनिबारदेखि सुरु हुने बताइएको छ ।

बन्द प्रशिक्षणमा सुरुमा ३० जना खेलाडीलाई बोलाइने क्यानका म्यानेजर विनोद दासले बताए ।