काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदनमा प्रचण्डको प्रतिवेदनमा सामन्ती तत्व, दलाल नोकरशाही पुँजीपति र साम्राज्यवाद जस्ता पुरानै शब्दहरु दोहोरिएका छन् ।


ADVERTISEMENT


काठमाडौँमा जारी पार्टीको ८औँ महाधिवेशनमा दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सामन्ती तत्व, दलाल नोकरशाही पुँजीपति र साम्राज्यवाद जस्ता पुरानै शब्दहरु दोहोरिएका  हुन् ।


ADVERTISEMENT

# # #


साथै उनले सो राजनीतिक प्रतिवेदनमा संविधान खारेज गराउने षड्यन्त्र भइरहेको पनि उल्लेख गरेका  छन् ।  दाहालले प्रतिवेदनमा ‘क्रान्तिमा पराजित सामन्ती तत्व दलाल नोकरशाही पुँजीपति र तिनको पक्षपोषण एवं प्रतिनिधित्व गर्ने राजनीतिक दलहरू संविधान खारेज गराउने षड्यन्त्रमा लागि रहेका छन्’ उल्लेख गरेका छन् ।

तर, कम्युनिस्ट क्रान्तिकारीदेखि राष्ट्रिय स्वाधीनताका पक्षधर देशभक्त र लोकतान्त्रिक शक्ति भने संविधानको रक्षा र परिमार्जनको पक्षमा अगाडि बढिरहेको उनको दाबी छ । ‘यही वर्गीय राजनीतिक अन्तर्विरोधको बीचबाट आजको नेपाली समाज अगाडि बढिरहेको छ,’ दाहालले भनेका छन् ।

उनले प्रतिनिधिसभा विघटन लगायतका घटनाबारे पनि उल्लेख गरेका छन् । तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेको घटनालाई दाहालले भनेका छन्, ‘असंवैधानिक र निरंकुश तवरबाट पटकपटक प्रतिनिधिसभाको विघटन गर्ने संविधान र ऐनको व्यवस्थाविपरीत राजनीतिक दलहरूलाई विभाजन गर्नेदेखि संवैधानिक र अन्य महत्वपूर्ण नियुक्ति गरेर अस्थिरता र अराजकतालाई मलजल गर्ने, संघीयताको मर्म र भावनाविपरीतका क्रियाकलाप गर्ने, संविधान, ऐन र अदालतको निर्णयलाई चुनौती दिँदै अनाहकमा प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने, संविधानद्वारा स्थापित लोकतान्त्रिक प्रणालीका विरुद्ध निरंकुश राजतन्त्रको पुनर्स्थापनाको हल्ला गर्ने आदिजस्ता काम नै प्रतिगामी तत्वले चलाइरहेका गतिविधि हुन् ।’

कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनका शक्तिले अत्यन्त गम्भीरतापूर्वक अध्ययन गर्नुपर्ने उल्लेख गरेका दाहालले साम्राज्यवादी उत्पादनप्रणालीविरुद्ध समुदाय र राष्ट्रियताको हितमा प्रकृति र पर्यावरणको संरक्षण गर्ने मुद्दालाई विश्वव्यापी अभियानको नेतृत्व लिन जोड गर्नुपर्ने धारणा राखेका छन् ।

प्रतिवेदनमा उनले माओवादी पार्टी र नेताहरुको कमजोरीलाई समेत औंल्याएका छन् । उनले नेता कार्यकर्ताको जीवनशैली र भुत्तेपनको आलोचना गर्दै आत्मआलोचना गरेर अघि बढ्नु पर्ने उल्लेख गरेका छन् । प्रतिवेदनमा दाहालले पार्टी कमजोर हुनुमा आफूले नेतृत्वकर्ताको हिसावमा जिम्मा लिनु पर्ने र आत्मआलोचना गर्नुपर्ने उल्लेख गरेका छन् । पार्टीमा व्यक्तिवादी चरित्र, गुटबन्दी, विधिपद्दतीलाई नमान्ने जस्ता कुरा बढ्दै गएकोले त्यसलाई सुधार गरेर अघि बढ्नु पर्ने उल्लेख गरेका छन् ।

दाहालले महाधिवेशनमा पेस गरेको प्रतिवेदनमा अमेरिकी अनुदान सम्झौता एमसीसीबारे के उल्लेख गरेका छन् भन्ने चासो यतिबेला उनका पार्टीका कार्यकर्तासहित अन्य राजनीतिक दललाई पनि रहेको छ । कार्यकर्ता तहमा एमसीसीको विरोध भइरहेको छ र उनको दल रहेको सत्ता गठबन्धनबाट प्रधानमन्त्री शेरबहादुर देउवा त्यसलाई पास गर्न चाहिरहका छन् ।

देउवाले हिजो मात्रै माओवादीकै कार्यक्रममा आफूले सम्झौतामा कहिँ कतै राष्ट्रघात नदेखेको र भए देखाउन चुनौति दिएको अवस्थामा दाहालले प्रतिवेदनका बारेमा कस्तो व्याख्या गरेका छन् भन्ने चासो रहेको छ । उनले प्रतिवेदनमा एमसीसीबारे लामै लेखेर प्रष्ट पार्न खोजेको कतिपयको आकलन भए पनि यसबारे कम मात्र चर्चा गरिएको छ ।

प्रतिवेदनमा दाहालले एउटा बुँदा उल्लेख गरेका छन् । उनले एमसीसीबारे राष्ट्रिय सहमति कायम गर्नुपर्ने उल्लेख गरेका छन् । एमसीसीका बारेमा परिमार्जन गरेर राष्ट्रिय सहमति बनाएरमात्र अघि बढाउन सकिन्छ, उनले प्रतिवेदनमा भनेका छन् ।