ललितपुर – पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाको २२औं वार्षिक साधारणसभा (एजीएम) सम्पन्न भएको छ । संस्थाका अध्यक्ष अमरदास श्रेष्ठको अध्यक्षतामा भएको सभामा  संस्थाको आर्थिक वर्ष २०७७-७८ मा सहकारीले गरेको उपलब्धी, भावी योजना, सम्भावना र भविष्यमा आउन सक्ने चुनौतिको बारेमा जानकारी गराइएको छ ।


ADVERTISEMENT


संस्थाले नेपालको समग्र सहकारी बजारमा कुल कारोबार, चुक्ता पूँजी, निक्षेप संकलन, कर्जा लगानी, मुनाफा आर्जन, सरकारलाई राजश्वमा गरेको योगदान, रोजगारीलगायत अन्य विविध क्षेत्रमा गरेको उल्लेखनीय कार्यहरूमा समेत अग्रणी स्थान लिन सफल रहेको श्रेष्ठको भनाई छ ।


ADVERTISEMENT

# # #


संस्थाका सचिव एवं प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले देशभर संचालित करिब ३४ हजार सहकारीमध्ये श्री लालीगुराँस बहुउद्धेश्यीय सहकारी संस्था उत्कृष्ट संस्थाको रुपमा पहिचान बनाउन सफल रहेको बताए । कोरोना भाइरस (कोभिड-१९) को विद्यमान अवस्थाको कारण सहकारी क्षेत्रमा परेको प्रभाव र सोको कारण सहकारी संस्थामा पर्न सक्ने समस्याहरुको विषयमा सरकारले विशेष ध्यान दिनुपर्ने भण्डारीले बताए ।

देशकै उत्कृष्ठ सहकारी संस्थाको पहिचान बनाउन सफल संस्थाले ५ वर्षे रणनीति तयारी गरी लागू गर्ने योजना रहेको पनि भण्डारीले बताए । उनले भने, ‘रणनीतिसँगै व्यवसायीक योजना बनाउने छौं । त्यही अनुसार संस्था अघि बढ्नेछ । संस्थको लगानीमा सञ्चालित अधिकांश संस्थाले प्रतिफल दिएको छ । ती संस्थाहरुलाई थप प्रबिधियुक्त बनाउने छौं ।’ भण्डारीले छिट्टै थप सदस्य सुविधा काउन्टरको विस्तार, थप एटीएम सेवाको शुरुवात गर्ने जानकारी गराउँदै संस्थालाई थप प्रविधिमैत्री र व्यवसायिक रुपमा अघि बढाउनेसमेत उल्लेख गरे ।

भण्डारीले थपे, ‘अहिलेको तरलता अभाव रहेको वित्तीय बजारमा चुनौती थपिएको छ । त्यसको लागि सबै सहकारीकर्मीहरु एकजुट हुनुपर्छ । पछिल्लो तथ्याङ्क अनुसार देशभर सहकारी संघ संस्थाहरुको शेयर पूँजी एक खर्ब ५० करोड भन्दा बढी रहेको छ । बचत परिचालन आठ खर्ब र सोही बराबरको ऋण प्रवाह भएको छ ।’ उनले देशभर संचालित सहकारी संघ संस्थाहरुले प्रत्यक्ष रुपमा तीन लाखभन्दा बढी व्यक्तिहरुलाई रोजगारी प्रदान गरेको जानकारी दिए ।

सहकारी क्षेत्रको पूँजीलाई उर्जा, पर्यटन, पशुपालन, उद्योग, कृषि लगायत मझौला तथा ठूला परियोजनामा लगानी गर्ने वातावरण सिर्जना गरी सहकारीमार्फत राष्ट्रिय अर्थतन्त्रको विकास गर्न वर्तमान सहकारी ऐन तथा नियमावलीलाई संशोधन गर्न अपरिहार्य रहेकोसमेत भण्डारीले बताए ।

राष्ट्रिय योजना आयोगका पूर्व सदस्य एवं अर्थविज्ञ डा जनकराज शाहले मुलुकको हालको आर्थिक अवस्था र सहकारी क्षेत्रले खेल्नुपर्ने भूमिकाको बारेमा बोलेका थिए । उनले संस्थाअघि बढाउन सबै कर्मचारी, विज्ञ सल्लाहकार र सञ्चालक समितिको मुख्य भूमिका रहने बताए ।

शाहले सहकारीमार्फत देशको आर्थिक विकास गर्न सहकारीमैत्री कानून निर्माण गर्नुपर्ने बताए । उनले संस्थाले आगामी वर्षहरुमा थप नयाँ कार्यक्रम र योजनाहरु अघि बढाउने बताए । संस्था स्थापना भएको २१ वर्ष अवधीमा सहकारीको शेयर सदस्यको संख्या बढेर करिब २२ हजार पुगेको छ । लालीगुराँसले आफ्नो लगानीमा चितवनको खैरहनीमा देशकै सर्वाधिक ठूलो गाई फार्म ‘श्री लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर’ संचालन गरेको छ ।

लालीगुराँसले गतवर्षदेखि ललितपुर गोदावरीमा ‘श्री लालीगुराँस दुग्ध प्रशोधन उद्योग’समेत सञ्चालन गरेको छ । संस्थाले निकट भविष्यमा काठमाडौंको नयाँबजार, महाराजगंज, ललितपुरको कुमारीपाटी, चितवनको भरतपुर, कास्कीको पोखरा, गोरखाको सिरानचोक र मकवानपुरको हेटौंडामा सदस्य सुविधा काउण्टर सञ्चालन गर्ने तयारी गरेको छ ।

संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत बहुउद्देश्यीय लगानीअन्तर्गत स्वास्थ्य क्षेत्रतर्फ ललितपुरको ताल्छिलेखमा लालीगुराँस हस्पिटल प्रालि, शिक्षा क्षेत्रतर्फ नयाँ बानेश्वर शंखमुलमा श्री लालीगुराँस उच्च मावि÷कलेज, डेरी परियोजनातर्फ चितवन खैरहनीमा श्री लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर र ललितपुर गोदावरीमा श्री लालीगुराँस दुग्ध प्रशोधन उद्योग, उर्जा क्षेत्रतर्फ सिन्धुपाल्चोक, लार्चामा भैरबकुण्ड हाईड्रोपावरलगायत अन्य विभिन्न संघ संस्थाहरुमा लगानी गरेको संस्थाले जनाएको छ ।

सभामा संस्थाका सर्वोत्कृष्ट कर्मचारीमा श्रीमती पविता थापा र उत्कृष्ट कर्मचारीमा श्रीमती उर्मिला मगरलाई प्रशंसापत्र तथा नगद पुरस्कारसहित सम्मान गरिएको छ । साथै १५ वर्ष स्थायी सेवा अवधि पूरा गर्ने दिपेश अधिकारीलाई सम्मान गरियो । त्यस्तैगरी पाँच वर्ष स्थायी सेवा पूरा गर्ने शशिकला भण्डारी, रविन्द्र महर्जन, किशोरी महत, चित्रा जिमी, तारालक्ष्मी सुनुवार, शोभा भण्डारी र सीता अधिकारी गरी सात जना कर्मचारीहरुलाई सम्मान गरिएको छ । साधारण सभाले शेयर सदस्यहरुलाई १२ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।