काठमाण्डौं-नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्कुमार गौचनको हत्यामा बाहुन डन (रमेश पौडेल) समूहका व्यक्तिको समेत संलग्नता खुलेको छ । गौचनको हत्यामा संलग्नमध्ये एक बोका भनिने गंगा लिङदेन बाहुन समूहका व्यक्ति हुन् । चार वर्षअघि ललितपुरमा बाहुनकै योजनामा ललितपुरमा मीनकृष्ण महर्जनलाई गोली हानेको घटनामा उनी पक्राउ परेका थिए । पक्राउ परेर छुटेलगत्तै उनी गौचन हत्याको घटनामा संलग्न भएको प्रहरीले जनााएको छ ।


ADVERTISEMENT


ठेक्कापट्टाको कमिसन विवादमै बाहुन समूहले ४ माघ ०७० मा महर्जनलाई धापाखेलमा गोली प्रहार गरेको थियो । गुन्डागर्दी पृष्ठभूमि भएका महर्जनले ठेक्काको कमिसन बाँड्ने जिम्मा लिएर आफूले नदिएपछि रमेश बाहुन भनिने सुजन पौडेलले गोली हानेका थिए । पौडेल हाल जेलमा छन् । उनलाई भारतबाट प्रहरीले पक्राउ गरी ल्याएको थियो । सो घटनामा लिङदेनलाई पक्राउ गरी ज्यान मार्ने उद्योगमा मुद्दा चलाएकामा उनी छुटिसकेका छन् ।


ADVERTISEMENT

# # #


घटनाको विषयमा जेलमा रहेका बाहुनसँग पनि प्रहरीले पटकपटक सोधपुछ गरेको थियो । तर, उनको संलग्नता नभेटिए पनि उनको गिरोहका सहयोगीहरू भने संलग्न रहेको प्रहरीले जनाएको छ । प्रहरीले सार्वजनिक गरेको आठजना फरार अभियुक्तको सूचीमा चौथो नम्बरमा लिङदेनको नाम छ । घटनामा गुन्डागर्दीमा संलग्न ठूलो संगठित समूह रहेको डिआइजी गणेश केसी बताउँछन् ।

फरार गुन्डा नाइके समीरमानसिंह बस्नेतको योजनामा गौचनको हत्या भएको अनुसन्धान प्रतिवेदन प्रहरीले सार्वजनिक गरिसकेको छ । हत्यामा संलग्न एक सुटरसहित पाँचजनालाई प्रहरीले मंगलबार सार्वजनिक गरेको थियो । गोली हान्नेमध्ये एक राजीव स्याङ्तान, सहयोग गर्ने पर्साका शिवजी महतो, भारतीय नागरिक मुकेशकुमार पाण्डे, पर्साका सन्तोष गुरुङ र काठमाडौं नागार्जुनका प्रकाश बुढाथोकीलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

घटनाको योजनाकार समूहमा बस्नेतसहित मनोज पुन, लोप्साङ लामा, बोका भन्ने गंगा लिम्बू, श्यामबहादुर गम्बे, कालेदाइ भन्ने अम्बरबहादुर रानामगर, रोशन बुढाथोकी र अजय थापा रहेको प्रहरीले जनाएको छ । २३ असारमा गौचनको शान्तिनगरमा गोली हानी हत्या भएको थियो । राजीवसहित अम्बरबहादुर रानामगरले गौचनलाई गोली हानेका थिए । राना भने फरार छन् । भगौडा आर्मी रहेका उनी पहिलेदेखि नै ‘वान्टेड’ व्यक्ति हुन् । त्यस्तै, प्रकाश बुढाथोकी र रोशन बुढाथोकी मुख्य योजनाकार बस्नेतका आफन्त तथा मुख्य सहयोगी हुन् ।

प्रहरीको हालसम्मको अनुसन्धान अनुसार गौचनको हत्या र गत वर्ष बुटवलमा युवा संघका नेता दुर्गा तिवारीको हत्यामा एउटै समूहको संलग्नता देखिएको छ । गत चैतमा कुमारीगालमा दावा लामामाथि आक्रमण पनि सोही समूहबाट भएको हो । दावालाई अम्बरबहादुर रानाले गोली हानेको प्रहरी स्रोत बताउँछ । तिवारीको हत्या रुपन्देहीका मनोज पुनको समूहले गरेको थियो । त्यसवेला समीर बस्नेत र लोप्साङ पनि उनकै समूहमा थिए । पछि समीर र लोप्साङ पुनसँग टाढा भएका थिए । उनीहरूले ठेकेदारहरूलाई लक्षित गरी धम्क्याएर पैसा उठाउँदै आएका थिए ।

पटक–पटक प्रहरीको टोली उनीहरूलाई पक्राउ गर्न भारत गए पनि असफल भई फर्किएको छ । जस कारण व्यवसायीहरू आतंकित भएका छन् । निर्माण व्यवसायी महासंघले बुधबार प्रेस विज्ञप्ति जारी गरी अनुसन्धानप्रति असन्तुष्टि जनाउँदै हत्याका नाइकेहरू पक्राउ गर्न माग गरेको छ । छानबिन समितिका संयोजक डिआइजी केसी भने घटनामा संलग्न सबैलाई पक्राउ गरिने बताउँछन् ।